१६ चैत्र २०८०, शुक्रबार

सिन्धुलीगढी युद्धमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई

Sindhuligadhi

अङ्ग्रेज फौजसँग भएको लडाइँमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई बुझाउने क्रम जारी रहेको छ । आज दुई भाले खुडा र एउटा तरबार सेनालाई बुझाइएको हो ।

विसं १८२४ मा भएको अङ्ग्रेजसँगको लडाइमा पूर्खाले प्रयोग गरेका घरेलु हतियार सङ्कलन गर्ने क्रम जारी रहेको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । खत्रीले आज आफ्नो घरमा भएको एउटा भाले खुडा र एक थान तरबार तथा भद्रकालीमा हरि थापाको घरमा रहेको भाले खुडा ९ नम्बर बाहिनीपति धु्रव शाहलाई हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरणपछि प्रमुख खत्रीले लडाइँका क्रममा प्रयोग भएका घरेल हतियारको खोजी गर्ने काम भइरहेको बताउनुभयो । नेपाली सेनासँग सहकार्य गरेर नगरवासीका घरमा भएका पुख्र्यौंली घरेलु हतियार सङ्कलन गर्ने र ऐतिहासिकस्थल सिन्धुलीगढीमा युद्ध सङ्ग्राहलयमा राखिने समेत उहाँले जानकारी दिनुभयो ।

यस्तै ९ नम्बर बाहिनीका बाहीनीपति शाहले युद्ध सङ्ग्रहालय निर्माणको काम अन्तिमचरणमा पुगेको बताउनुभयो । तत्कालीन अङ्ग्रेजसँगको लडाइँका क्रममा प्रयोग भएका घरेलु हतियारको खोजी गर्ने कार्य भइरहेको उहाँको भनाइ छ । हालसम्म सात खुडा, खुकरी र एउटा धनुषबाण जम्मा भएको जानकारी दिनुभयो ।

अङ्ग्रेज फौजलाई हराएको सम्झनामा हरेक कात्तिक २४ गते नगरपालिकाले विजय उत्सव मनाउन थालेको छ । विसं २०६७ मा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले ओझेलमा परेको सिन्धुलीगढीको प्रचारप्रसार गर्न विजय उत्सव मनाएको थियो ।

त्यसयता जिल्ला विकास समिति हुँदै हाल स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले गढीको संरक्षण गर्दै आएको छ ।