१४ बैशाख २०८१, शुक्रबार

सुनचाँदी महासङ्घमा राजनीति नगर्न मन्त्री श्रेष्ठको आग्रह

Krishana Gopal Shrestha 1

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सुनचाँदी व्यवसायमा राजनीति प्रवेश गर्न नहुने बताउनुभएको छ । काठमाडौँमा शुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घको साधारणसभा तथा तेस्रो महाधिवेशनमा मन्त्री श्रेष्ठले व्यवसायमा राजनीति प्रवेश गर्नु नहुने बताउनुभएको हो ।

“हिजो म महासङ्घमा हँुदा व्यवसायीका हकहितको पक्षमा धेरै काम गरेँ, कति माग सम्बोधनका विषयमा दबाबसमेत दिइयो, तपाईहरुका समस्याहरु केके छन् समाधन गर्न म सहयोग गर्छु”, उहाँले भन्नुभयो, “सरकार व्यवसायीको साथमा छ, समस्याको समाधान गर्ने जिम्मा मेरो भयो ।” मन्त्री श्रेष्ठ महासङ्घको सल्लाहकारको रुपमा रहनुभएको छ ।

महासङ्घका अध्यक्ष मोहनकृष्ण विश्वकर्माले व्यावसायिक वातावरण नहुँदा खुम्चिएर व्यवसाय सञ्चालन गर्नुपरेको बताउनुभएको छ । उहाँले सरकारले सुनको कारोबार गर्न दैनिक कोटा तोकिँदा खुला रुपमा व्यवसाय गर्न नपाएको भन्दै पुराना संस्कृति, परम्परा र इतिहास कायम राख्न व्यवसायीलाई सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

“विसं २०६६ देखि हामी व्यवसायीलाई सुनको कारोबार गर्न कोटा तोकिएको छ, शुरुआति दिनहरुमा दैनिक २० किलो सुनको विक्री वितरणको अनुमति भएकोमा हाल घटाउँदा घटाउँदै १० किलोमा झारिएको छ, बजारमा माग धेरै छ, तर हामीसँग तोकिएको परिमाण मात्र बेच्ने अनुमति छ”, उहाँले भन्नुभयो । उहाँले सुनचादीँ व्यवसायमा मात्र देशभर रु ५० अर्ब बढी लगानी भएको र वार्षिक रुपमा रु १२ अर्ब बढी राजश्व बुझाउँदै आएको बताउनुभयो ।

हामीले यतिधेरै राजश्व सरकारलाई बुझाउने गरेको भए पनि सहज रुपमा सुनका लागि आवश्यक पर्ने कच्चा पदार्थसमेत नपाएको उहाँले गुनासो गर्नुभयो । उहाँले व्यावसायिक नीति, नियम, निर्देशिका, नियमावली, ऐन र कानून नबन्दा ऐन कानूनबिना नै सरकारले व्यवसायीलाई विभिन्न समयमा बजार अनुगमन गरी दुःख दिने काम गरेको बताउनुभयो ।