१४ बैशाख २०८१, शुक्रबार

प्रचण्डलाई गृहजिल्लामै झट्का, काँग्रेसको क्लिन स्वीप

congress pic 1 copy 1024x478

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमै नेकपालाई झट्का लागेको छ । शनिबार भएको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक हुँदा तीन वटै वडामा नेपाली काँग्रेस विजयी भयो ।

दुई पार्टी मिलेर बनेको सत्तारुढ दलले तीन मध्ये कम्तिमा दुई वटा वडा जित्ने दावी गरेको थियो । तर चुनावी नतिजाले नेकपाको दाबीलाई उल्टाई दियो । आफ्ना उम्मेद्वारलाई जिताउन नेकपा अध्यक्ष प्रचण्ड स्वंम चितवनमा दौडधुप गरेका थिए । तर प्रचण्डको दौडधुप पनि खेर गएको छ । आफ्नै निर्वाचन क्षेत्रको वडामा प्रचण्डले जिताउन सकेनन् । भरतपुर १६ मा आफ्ना उम्मेद्वार भक्तराज हमाललाई जिताउन प्रचण्ड स्वंम चुनावी सभामा सम्बोधन गर्न चितवन आएका थिए । तर यसअघि जित हासिल गरेको वडामा समेत नेकपा पराजय हुन पुग्यो ।

यस वडामा यसअघि नेकपा एमाले एक्लै हुँदा ६४ मतान्तरतले जित हासिल गरेको थियो । अहिले पार्टी एक हुँदा पनि काँग्रेससंग ३०८ मतको अन्तरले पराजित भएको छ । काँग्रेसका युवा उम्मेद्वार अमृतराज हमालले ३ हजार १८३ मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित भए । उनी यसअघिको स्थानीय तहको निर्वाचनमा नेकपाका चतुरमान गुरुङसंग ६४ मतको झिनो अन्तरले पराजित भएका थिए । यस्तै प्रतिद्धन्द्धी सत्तारुढ दल नेकपाका उम्मेदवार भक्तराज हमालले २ हजार ८७५ मत प्राप्त गरे । भरतपुर १६ मा ८ हजार ४ सय ८१ मतदाता रहेकोमा ६ हजार २ सय ५० मत खसेको थियो ।

यस नतिजाले नेकपा चितवनलाई मात्र नभइ केन्द्रमै झट्का दिएको छ । चितवनको राजनीलिाई केन्द्रसंग जोडेर हेर्ने गरिएको छ ।

यस्तै पूर्वीचितवनको खैरहनी नगरपालिका–४ मा नेपाली काँग्रेसका उम्मेद्वार देवबहादुर बस्नेतले नेकपाका उम्मेद्वार वेदबहादुर अधिकारीलाई पराजित गरे । बस्नेतले १ हजार १ सय ३८ मत प्राप्त गरे भने अधिकारीले ९८६ मत प्राप्त गरे । २ हजार ६ सय ९२ मतदाता रहेको यस वडामा २ हजार १ सय ७२ मत खसेको थियो । यस वडामा यसअघिको निर्वाचनमा नेपाली काँग्रेस नै विजयी भएको थियो ।

यसैगरि खैरहनी वडा नं।५ मा नेपाली काँग्रेसकी प्रतिमा कार्की ९बस्नेत० विजयी भइन् । कार्कीले ८ सय ४२ प्राप्त गरिन् भने नेकपाका पुननारायण प्रधानले ७ सय ५६ मत प्राप्त गरे । यसअघिको निर्वाचनमा काँग्रेस नै विजयी भएको थियो । विजयी उम्मेद्वार निधन भएका वडाअध्यक्षका श्रीमती हुन् । २ हजार १ सय ११ मतदाता रहेको यस वडामा १ हजार ६ सय ७० मत खसेको थियो ।