७ बैशाख २०८१, शुक्रबार

स्थानीय तहबाट कैदीबन्दीलाई खाट उपलब्ध

karagar

सुत्ने खाट अभावमा दमौली कारागारका कैदीबन्दी चिसो भूइँमा सुत्नुपर्ने अवस्था आएपछि यहाँका स्थानीय तहले खाट सहयोग गर्न थालेका छन् ।

स्थानीय तहबाट खाट उपलब्ध हुन थालेपछि चिसो भूइँमा सुत्नुपर्ने बाध्यता हटेसँगै यहाँका कैदीबन्दी खुशी भएका छन् । कारागारमा बजेट अभावका कारण खाट राख्न नसकेपछि यहाँका कैदीबन्दी केही समय चिसो भूइँमा समेत सुत्न बाध्य भएका थिए । केही समयअघि राससमा ‘चिसो भूइँमा सुत्छन् कैदीबन्दीहरु’ भन्ने शीर्षकमा समाचार प्रकाशित भएपछि स्थानीय तहले सहयोगको लागि चासो देखाएका हुन् ।

सो समाचार प्रकाशित भएलगत्तै ब्यास नगरपालिकाले ४० थान एकल, म्याग्दे गाउँपालिकाले दुई जना क्षमताको ११ थान, बन्दिपुर गाउँपालिकाबाट पाँच थान, कास्की निवासी कृष्टिना गुरुङले दुई क्षमताको छ थान खाट सहयोग गरिसकेका छन् । जिल्लाका १० पालिकामध्ये अन्य सात पालिकाले पनि सहयोग गर्ने गरी प्रतिबद्धता जनाएको कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

कारागारमा स्थानीय तहले सहयोग गरेपछि कैदीबन्दीलाई सुत्न सहज भएको उहाँको भनाइ छ ।महिला बन्दीगृह बनाइँदै कारागारको पुरानो प्रशासन र सुरक्षा ब्यारेक भवनको बाहिरी भागमा घेरबार गरी महिला बन्दीगृह बनाउन लागिएको छ । सो कारागारमा महिला बन्दी गृह नहुँदा कास्की कारागार पठाउनुपर्ने बाध्यता रहिआएकाले त्यसको अन्त्य गर्न लागिएको कारागारका निमित्त जेलर अधिकारीले जानकारी दिनुभयो ।

ती दुई भवनलाई व्यवस्थित गरी महिला बन्दीगृह बनाउँदा ४० देखि ५० जनासम्म राख्न सकिने क्षमताको हुने उहाँले बताउनुभयो,“हाल सो भवनलाई क्वारेन्टिन बनाइएको छ भने क्वारेन्टिनमा छ जना बस्दै आएका छन् ।” नयाँ आएका कैदीबन्दीलाई १० दिनसम्म क्वारेन्टिनमा राखेपछि कुनै पनि लक्षण नदेखिए मात्रै कारागारमा पठाउने गरिएको छ ।

महिला बन्दीगृहको लागि गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालय र कारागार व्यवस्थापन विभागलाई समेत जानकारी गराइसकिएको कार्यालयका निमित्त जेलर अधिकारीले बताउनुभयो । हाल कारागारमा कैदी १८७ र थुनुवा ८२ गरी कूल २६९ जना कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ । हराएको मोबाइल फेला जिल्ला प्रहरी कार्यालय तनहुँले हराएको सात थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

विभिन्न मितिमा फेला पारेका मोबाइल सम्बन्धित धनीलाई कार्यालयमा नै बोलाएर हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिनुभयो । विभिन्न मिति र स्थानबाट हराएका तथा चोरी भएका मोबाइलको खोजी गरी पाउँ भनी प्रहरी कार्यालयमा निवेदन आएको थियो ।

निवेदन आएपछि प्रहरीले खोजतलास कार्यलाई तीव्रता दिँदै गएपछि हराएका तथा चोरी भएका करीब रु एक लाख २९ हजार ५०० बराबरको मोबाइल फेला परेको उहाँले बताउनुभयो ।