८ बैशाख २०८१, शनिबार

बागलुङमा कृषिज्ञान केन्द्र स्थापना

krishi gyankendra

बागलुङमा कृषिज्ञान केन्द्र स्थापना भएको छ । सङ्घीयता कार्यान्वयनसँगै जिल्ला कृषि विकास कार्यालय खारेज भएपछि जिल्लामा कृषिसँग सम्बन्धित कार्यालय थिएन् ।

कृषिज्ञान केन्द्र पर्वतबाट प्रवाह हुने सेवाले किसानको पहुँच पुग्न नसकेको भएकाले बागलुङमा नै ज्ञान केन्द्र चञ्चालनमा ल्याइएको हो । गण्डकी प्रदेश सरकारले सबै जिल्लामा कृषिज्ञान केन्द्र सञ्चालन गर्ने निर्णय गरेसँगै बागलुङमा कार्यालय सञ्चालनमा आएको हो ।

बागलुङमा साविक कृषि विकास कार्यालयको भवन बागलुङ नगरपालिकाले प्रयोग गरेकाले सोही भवनको एउटा कोठाबाट कार्यालय सञ्चालन भएको छ । प्रदेश सरकारले भवन खाली गरिदिन बागलुङ नगरपालिकालाई पत्राचार गरे पनि भवन खाली नभएपछि एउटा कोठाबाट कार्यालयको शुरुआत भएको हो ।

कृषिज्ञान केन्द्र पर्वतको सम्पर्क कार्यालयका रुपमा रहेको ठाउँमा कृषिज्ञान केन्द्र बागलुङको स्थापना भएको कार्यालय प्रमुख भानु भट्टराईले जानकारी दिनुभयो । बागलुङ–पर्वत हेर्ने गरी पर्वतमा कृषिज्ञान केन्द्र राख्दा यहाँका किसानले झन् बढी सास्ती खेप्नु परेको भनी आलोचना भएपछि गण्डकी प्रदेश सरकारले ११ जिल्लामै कृषिज्ञान केन्द्र सञ्चालन गर्ने निर्णय गरेअनुसार नै बागलुङमा कृषि ज्ञान केन्द्रको कार्यालय स्थापना भएको उहाँको भनाइ छ ।

कृषि विकास निर्देशनालय गण्डकी प्रदेशमा वरिष्ठ कृषि अर्थविज्ञका रुपमा काम गर्दै आउनुभएका भट्टराईलाई यही पुस २० गतेदेखि कृषिज्ञान केन्द्र बागलुङको प्रमुखका रुपमा खटाइएको छ । एउटा कोठामा रहेको सम्पर्क कार्यालय अब १२ कर्मचारीको दरबन्दीसहित कृषिज्ञान केन्द्र स्थापना भएको छ । अहिले कार्यालय प्रमुखसहित तीन मात्रै कर्मचारीले काम शुरु गरेका छन् ।

बागलुङ नगरपालिकाले भवन खाली नगरिदिएपछि एउटै कोठाबाट कृषिज्ञान केन्द्रको सेवा शुरु गरिएको उहाँले बताउनुभयो । ज्ञान केन्द्र स्थापना भएपछि किसानलाई सहयोग पुग्ने छ । प्रदेश सरकारले सञ्चालन गर्ने कार्यक्रम र प्रविधि तथा प्राविधिक ज्ञान हस्तान्तणका लागि सहज हुने उहाँले बताउनुभयो । “ज्ञानकेन्द्र नजीक हुँदा टाढा पुगेर सेवा लिनुपर्ने झण्झट कम हुन्छ”, जैमिनी नगरपालिकाका किसान मोती पौडेल भन्नुहुन्छ “पहिले नै खारेज नहुनु पर्ने कार्यालय थियो, अहिले नाम परिवर्तन भएर आएको छ, हामी खुशी छौं ।”

कार्यालय नहुँदा सरोकार पक्षलाई जिल्लागत तथ्याङ्क तयार गर्नसमेत कठिन थियो ।पत्रकार महासङ्घको पूर्वाधारको तयारी‘हामी सबैको रहर, पत्रकार महासङ्घको घर’, यो नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको वर्तमान कार्यसमितिको पहिलो बैठकले निर्णय गरेर थालेको अभियान हो । झोलामा महासङ्घको कार्यालय बोक्नुपर्ने बाध्यताको अन्त्यका लागि अघिल्ला कार्यसमितिको पहलमा प्राप्त जग्गामा सदरमुकाम बागलुङ बजारमा पत्रकार महासङ्घको आफ्नै भवन ठडिएको छ ।

सहयोगकै भरमा झण्डै रु एक करोड खर्चेर बनाइएको भवनमा अहिले सुविधासम्पन्न सूचना केन्द्र, तालीम कक्ष, सभाकक्षलगायत संरचना निर्माणको काम चलिरहेको छ । महासङ्घको भवन निर्माण र त्यहाँ बनेका संरचनाका लागि देशबाट मात्रै होइन, विदेशमा बस्ने नेपालीको पनि ठूलो सहयोग छ । घर बनेर उद्घाटन भइसकेपछि पनि सहयोग गर्ने अभियान रोकिएको छैन ।“आधुनिक सूचना केन्द्र सञ्चालनमा ल्यायौंँ, अब हामी सुविधासम्पन्न तालीम कक्ष बनाउने अभियानमा छौंँ”, महासङ्घका जिल्ला अध्यक्ष दिल शिरीषले भन्नुभयोे, “सदरमुकाममा सुविधासम्पन्न सभाहल महासङ्घले निर्माण गर्नेछ ।” तयार भएको हलभित्र आवश्यक पूर्वाधार निर्माणको काम बाँकी छ ।

प्रभु बैंकको सहयोगमा निर्माण भएको आधुनिक सूचना केन्द्रका लागि रु पाँच लाख खर्च भएको छ । सौर्य ऊर्जा तथा विद्युत् नभएका बेला चल्ने गरी ब्याकअपको व्यवस्था गर्न बाँकी छ । त्यसका लागि समेत महासङ्घले मनकारी खोजिरहेको छ । महासङ्घको अभियानका लागि विदेशमा गठन भएका नेपालीका सङ्गठनले आफ्नो फजुल खर्च कटाएर सहयोग गर्ने क्रम जारी छ ।

अन्तरराष्ट्रिय बागलुङ समाजले आधुनिक तालीम कक्षमा आवश्यक प्रोजेक्टर सहयोग गरेको छ । झण्डै रु ५० हजार मूल्य पर्ने प्रोजेक्टर समाजका महासचिव देव पौडेलले हस्तान्तरण गर्नुभयो । “हाम्रो सहभागिता मात्रै हो, सानो भए पनि सहयोग गरौं भन्ने लागेर प्रोजेक्टर बोकेर आएँ”, महासचिव पौडेलले भन्नुभयोे, “विस्तार हुँदै गरेको सङ्गठनको माया भनेर बुझ्नुहोला ।” सामान्य फर्निचरका लागि समेत महासङ्घलाई आफैसँग स्रोत हुँदैन ।

सभाकक्षमा ध्वनिको व्यवस्थापन र फर्निचरका लागि बागलुङ समाज बेल्जियमले सहयोग गरेको छ । समाजका अध्यक्ष राजु थापाले समाजका तर्फबाट रु २० हजार सहयोग गर्नुभयो । “कत्रो सौहार्दता, सामाजिक मनहरुकै कारण आज हामी सबैको साझा घर बनेको छ, अब यहाँ बन्ने अन्य संरचनाबाट सबैलाई सहज हुन्छ”, महासङ्घका सचिव रामबहादुर थापाले भन्नुभयो, “हामी थाकेका छैनाँैं, सहयोगी मनहरुले ऊर्जा थपिरहनुभएको छ ।”

महासङ्घले सरकारी निकाय, सङ्घसंस्था, व्यक्ति र समूहको सहयोगमा रु एक करोडभन्दा बढी खर्च गरेर आधुनिक भवन र त्यसभित्र सूचना केन्द्र, सभाकक्ष, तालीम कक्षको निर्माण गरिरहेको छ ।