१५ बैशाख २०८१, शनिबार

ढल्केबर सबस्टेशनको क्षमता बढ्यो

elecatry

देशको विद्युत् प्रणालीको प्रमुख हवका रुपमा रहेको ढल्केबर सबस्टेशनलाई थप क्षमतायुक्त बनाइएको छ । हालसम्मकै सबैभन्दा ठूलो मानिएको उक्त सबस्टेशनमा थप ३१५ एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ ।

धनुषामा रहेको उक्त सबस्टेशनको क्षमता बढाइएपछि पूर्वी तथा पश्चिम नेपाल एवम् राजधानी काठमाडौँमा विद्युत् आपूर्तिका लागिसमेत थप सहज भएको छ । नेपाल विद्युत् प्राधिकरणले सरकारको लगानीमा ग्रिड सबस्टेशन क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत ढल्केबरमा २२०÷१३२, ३१५ एमभिए क्षमताको पावर ट्रान्सफर्मर थप गरी थप क्षमतायुक्त बनाएको हो ।

प्राधिकरणका कायम मुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सबस्टेशनमा जडान गरिएको ३१५ एमभिएको थप पावर ट्रान्सफर्मरको आइतबार राति साढे १० बजे चार्ज गरिएको जानकारी दिनुभयो । अहिले ढल्केबर सबस्टेशनमा २२०÷१३२ केभीका दुईवटा ट्रान्सफर्मर सञ्चालनमा छन् । जसको क्षमता ३२० एमभिए छ ।

अब सबस्टेशनको क्षमता ६३५ एमभिए पुगेको छ । ग्रिड सबस्टेशन क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत ढल्केबरमा जडान गर्न लागिएको ३१५ एमभिएका दुईवटा ट्रान्सफर्मरमध्ये एउटा चार्ज गरिएको हो । बाँकी एउटा ट्रान्सफर्मरको जडान भइरहेको कामु कार्यकारी निर्देशक शाक्यले बताउनुभयो ।

“कूल ३१५ एमभिएको ट्रान्सफर्मर चार्ज भएसँगै अब जाडोमा भारतबाट थप करीब एक सय मेगावाट विद्युत् आयात गरी देशभित्रको विद्युत् माग धान्न आपूर्ति गर्न सकिन्छ”, उहाँले भन्नुभयो । यस्तै ४५६ मेगावाटको माथिल्लो तामाकोशी आएपछि आन्तरिकरुपमा खपत हुन नसकेको विद्युत् निर्यात गर्न पूर्वाधार तयार भएको उहाँको भनाइ छ ।

केही महिनाअघि सञ्चालनमा आएको ४००÷२२० केभी ढल्केबर सबस्टेशनमा ३१५ एमभिए क्षमताका तीनवटा गरी ९४५ एमभिए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करीब नौ सय मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्ने क्षमता राख्दछ । प्राधिकरण प्रसारण निर्देशनालयका प्रमुख दीर्घायुकुमार श्रेष्ठका अनुसार अब आवश्यक परेमा ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौताअनुसार थप करीब एक सय मेगावाट विद्युत् आयात गर्न सकिनेछ ।

“अहिले हाम्रो संरचनाले नधान्ने हुँदा त्यहाँबाट करीब २७० देखि २८० मेगावाट विद्युत् आयात भइरहेको थियो, भारतीय पक्षले ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत थप एक सय मेगावाट विद्युत् दिन सकिने बताएको छ, अब ३१५ एमभिएको ट्रान्सफर्मर चार्ज भएकाले आवश्यक परेमा थप विद्युत् ल्याउन सकिन्छ”, श्रेष्ठले भन्नुभयो । प्राधिकरण र भारतीय कम्पनी एनटिपिसी विद्युत् निगम लिमिटेड(एनभिभिएन)बीच ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत जुलाई–नोभेम्बरमा २५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३५० मेगावाटसम्म र मे–जुनमा २०० मेगावाटसम्म विद्युत् खरीद बिक्री (पिपिए) सम्झौता भएको छ । पिपिएको म्याद ३० जुन २०२१ सम्म रहेको छ ।

ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन ४०० केभीमा चार्ज भइसकेको छ । नेपालभित्र विद्युत् प्रवाहका लागि ४०० केभी र २२० केभीको संरचना तयार भइनसकेकाले ४०० केभी प्रसारण लाइनबाट भारतबाट आएको विद्युत्लाई १३२ मा कन्भर्ट गरी प्रवाह भइरहेको छ ।

हेटाँैडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माणाधीन छ भने खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइन १३२ केभीमा मात्रै सञ्चालनमा छ । खिम्ती–ढल्केबरलाई २२० केभीमा छिट्टै चार्ज गर्ने गरी काम भइरहेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् यही प्रसारण लाइनमार्फत ढल्केबर पु¥याइने छ ।

आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहजरुपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिनेछ । २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेशनमा आएको माथिल्लो तामाकोशीको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ ।

बर्खायाममा बढी भएको खण्डमा ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतमा सिधै निर्यात गर्न सकिन्छ । हिउँदमा आवश्यक परेमा न्यूनतम ६०० मेगावाट आयात गर्न सकिन्छ भने दुई मुलुकबीच इनर्जी बंैकिङ गर्नसमेत बाटो खुल्नेछ । दुई मुलुकबीच इनर्जी बैंकिङ गर्ने सैद्धान्तिक सहमति भइसकेको छ ।

प्राधिकरणले अन्य सबस्टेशनको समेत क्षमता वृद्धि गर्दैै लैजाने योजना बनाएको छ ।