१६ चैत्र २०८०, शुक्रबार

तनहुँमा नौ सडक मानवको उद्धार

uddar sadk balbalika

सडकमा कष्टकर जीवन बिताइरहेका नौ जनाको तनहुँबाट उद्धार गरिएको छ । जिल्लाको व्यास नगरपालिकाबाट पाँच र शुक्लागण्डकी नगरपालिकाबाट चार सडक मानवको मानव सेवा आश्रम कास्की शाखाले उद्धार गरेको हो ।

स्थानीय तह र डिसु नेपालको सहयोगमा आश्रमले शुक्रबार व्यास र शनिबार शुक्लागण्डकीबाट उद्धार गरेको जनाएको छ । यतिबेला सडक मानवमुक्त बनाउन मानव सेवा आश्रमले मेची–महाकाली उद्धार अभियान चलाएको अभियानकर्मी राजन सापकोटाले जानकारी दिनुभयो । यो अभियान पुस ७ गते शुरु भएको थियो भने माघ ७ मा सकिनेछ । सापकोटाका अनुसार गण्डकीमा पनि सहाराविहीन सडक मानवको उद्धार अभियान जारी छ । “खाना, नाना र छानाको अभावमा तड्पिरहेकालाई उद्धार गरिरहेका छौँ”, उहाँले भन्नुभयो । कास्कीको छोरेपाटनमा रहेको मानव सेवा आश्रममा हाल १२८ जनाले आश्रय पाएका छन् ।

भुजेल समुदायलाई न्यानो कपडा

गण्डकी प्रदेश प्रहरी श्रीमती सङ्घले तनहुँको देवघाट गाउँपालिका–१ बसेनीटारका विपन्न भुजेल समुदायलाई न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ । प्रहरी श्रीमती सङ्घले उक्त ठाउँका ११० घर भुजेल समुदायलाई न्यानो कपडा र खाद्यान्न वितरण गरेको हो । सङ्घका अध्यक्ष सरस्वती अर्याल, देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा र जिल्ला प्रहरी कार्यालय तनहँुका प्रहरी उपरीक्षक अरुण पौडेलले भुजेल परिवारलाई उक्त सामग्री वितरण गर्नुभएको थियो ।

सङ्घले ती परिवारलाई चामल, दाल चिउरा र कम्बल वितरण गरेको अर्यालले जानकारी दिनुभयो । उहाँले निम्न आय भएका नागरिकलाई सहयोग गर्ने सङ्घको उद्देश्य रहेको बताउनुभयो । देवघाट गाउँपालिकाका अध्यक्ष थापाले देवघाट गाउँपालिकाका नागरिकलाई सहयोग उपलब्ध गराएकामा सङ्घप्रति आभार व्यक्त गर्दै अन्य क्षेत्रमा पनि थप सहयोगको अपेक्षा गर्नुभयो । सो अवसरमा प्रहरी परिवार श्रीमती सङ्घका पदाधिकारीलाई बसेनीटारका भुजेल समुदायले बुनेको परम्परागत नाङ्लो र ढकिया मायाको चिनोस्वरुप प्रदान गरेको थियो ।

नियमित साहित्यिक कार्यक्रमको १७८औँ शृङ्खला

गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरको नियमित साहित्यिक कार्यक्रम अक्षरयात्राको १७८औँ शृङ्खला शनिबार दमौलीमा सम्पन्न भएको छ । ‘जीवन र जगत्को यथार्थ बोधका लागि अक्षरयात्रा’ भन्ने नाराका साथ प्रत्येक महिनाको तेस्रो शनिबार हुने नियमित कार्यक्रम दमौलीमा गरिएको हो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले साहित्य समाजलाई सही बाटोमा हिँड्न मार्गनिर्देश गर्ने बलियो माध्यम भएको बताउनुभयो । समाज र राष्ट्रमा व्याप्त कुसंस्कार, अनियमितता र विसङ्गतिलाई कलमका माध्यमबाट झक्झकाएर शासक र नीति निर्मातालाई दबाब सिर्जना गर्ने काम साहित्यकारले गर्दै आएको न्यौपानेले बताउनुभयो ।

व्यासका अध्येता काशीनाथ न्यौपानेले भगवान् वेदव्यासको जन्मभूमि दमौली आफैँमा साहित्यका हिसाबले उर्वर भूमि भएको बताउनुभयो । अक्षरयात्रा कार्यक्रमका परिकल्पनाकार प्रकट पङ्गेनी शिवले साहित्यिक अभियानका रूपमा साहित्यिक पर्यटनको अवधारणाबाट अक्षरयात्रा कार्यक्रम शुरु गरिएको बताउनुभयो । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँका अध्यक्ष सागर उदासले अक्षरयात्रा कार्यक्रम दमौलीमा आयोजना भएको प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गजल सन्ध्यासँग सहकार्य गरी साहित्यिक गतिविधि अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा साहित्यकार सञ्जीव पौडेल, कपिल शर्मा, मोहन क्षेत्री, प्रदीप रोदन, सुदेश सत्याल, आवाज शर्मा, उषा किरण तिवारी, शिव त्रिपाठी, नारायणी अधिकारी, गौकुमारी न्यौपाने, मन क्षेत्री, प्रमोद थापा, माधव खतिवडा, मैया सुवेदी, दिवाकर भट्टराई, लालमणि पोखरेल, अनिता दाहाल, प्रेम गिरी विशाल, अमृत क्षेत्री, बिनोद श्रेष्ठलगायतले रचना वाचन गर्नुभएको थियो ।