११ बैशाख २०८१, मंगलवार

हरिवनमा मानव सेवा आश्रम सञ्चालन

maanw sewa aashram hariwan

सर्लाहीको हरिवनमा प्रदेश नं २ कै नमूना र ठूलो मानव सेवा आश्रम सञ्चालनमा आएको छ ।

हरिवन नगरपालिका–९ नयाँरोड चोकमा प्रदेश नम्बर २ कै ठूलो मानव सेवा आश्रम सञ्चालनमा आएको हो । आश्रममा अशक्त, बेसहारा, अभिभावकविहीन, मानसिक समस्याका बिरामी एवं सडकमा मागेर हिँड्ने बालबालिका तथा ‘सडक मानव’ लाई उद्धार गरी राख्न सकिने हरिवन नगरपालिका–९ का वडाध्यक्ष सीताराम पोख्रेलले जानकारी दिनुभयो ।

हरिवन नगरपालिका–९, नयाँरोड चोकस्थित ज्ञानज्योति विद्यालयको पुरानो भवनलाई आश्रमको रुपमा सञ्चालनमा ल्याइएको आश्रम अभिभावक परिवारका सदस्य एवं हरिवन नगरपालिका–११ का वडासदस्य सुकदेव कार्कीले जानकारी दिनुभयो । आश्रममा हालसम्म ६० जनाभन्दा बढीलाई ल्याएर राखिसकिएको उहाँको भनाइ छ ।

हरिवनका १० जनाबाट राख्न शुरु गरिएको आश्रममा अहिले ६० जना रहेका छन् । गत सोमबार हरिवन नगरपालिका–४, पटौनाका तीनजना मानसिक समस्या भएकालाई राखिएको थियो । हरिवन नगरपालिकाका र लालबन्दी नगरपालिकाको नवलपुरलगायतको स्थानबाट गरी १० जना अशक्त, बेसहारा, अभिभावकविहीन, मानसिक समस्याका बिरामी एवं सडकमा मागेर हिँड्ने बालबालिका तथा ‘सडक मानव’ लाई उद्धार गरी राख्नु शुरु गरिएको हरिवन नगरपालिकाका उपप्रमुख रेणुका पौडेलले जानकारी दिनुभयो ।

गत सोमबार सप्तरी, सिराहा, धनुषा, महोत्तरीलगायत जिल्लाबाट समेत सडकमा मागेर हिँड्ने ५० भन्दा बढीलाई आश्रममा ल्याई राखिएको छ भने अरु जिल्लाबाट पनि त्यस्ता मानिस ल्याएर राख्ने कार्कीले बताउनुभयो ।हरिवनको आश्रम भने प्रदेश नं २ कै नमूना र २०० जनासम्म राख्न सकिने गरी पूर्वाधार विकासको काम भइरहेको जनाइएको छ ।

तत्काल मासिक रु ४२ हजार भाडा तिर्ने गरी आश्रम सञ्चालनमा ल्याइएको र भविष्यमा हरिवन नगरपालिका–८ स्थित फेदीमा नगरपालिकाले उपलब्ध गराएको एक बिघा जग्गामा आश्रम भवन निर्माण गर्ने तयारी भइरहेको छ । आश्रमको भाडाबापतको रकम तिर्न हरिवन नगरपालिकाले वार्षिक रु दुई लाख उपलब्ध गराउने भएको छ भने भवन निर्माणका लागि रु आठ लाख बजेट छुट्याइसकेको कार्कीले बताउनुभयो ।

आश्रमले मुठी दान, मासिक दाता, वार्षिक दाताका रुपमा सहयोग सङ्कलन गरिरहेको छ । हाल सङ्घ, प्रदेश र स्थानीय सरकार तथा नेपालमै रहेका मनकारी दाताबाट आर्थिक सहयोग सङ्कलन गरेर आश्रम सञ्चालनमा ल्याइएको छ ।

आश्रम सञ्चालनका लागि हरिवन नगरपालिकाले तत्काल २० जनाका लागि ओढ्ने ओछ्याउने, पकाउने र खाने भाँडाकुँडा, एक– एक जोर न्यानो कपडा, चप्पल, भट्टे चुलो, थाल, कचौरा, गिलासलगायत सामग्री सहयोग गरेको नगर प्रमुखका स्वकीय सचिव युवराज आचार्यले जानकारी दिनुभयो ।पुस ८ गतेदेखि माघ ८ गतेसम्मका लागि मेची–महाकाली राष्ट्रिय उद्धार कार्यक्रम सञ्चालन गरेको आश्रमले उद्धार गरिएकालाई आफूले सञ्चालन गरेको मुलुकका विभिन्न स्थानमा रहेको आश्रममा लगेर राख्ने बताइएको छ । कार्कीका अनुसार आश्रममा राखिएकालाई मानसिक रोगसम्बन्धी विशेषज्ञबाट स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि गरिने छ ।