८ बैशाख २०८१, शनिबार

समाजलाई मर्यादित बनाउन स्काउटको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री पौडेल

Dormani poudel

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समाजलाई मर्यादित बनाउन नेपाल स्काउटको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

हेटौँडामा आज भएको प्रदेशको नवनियुक्त स्काउट तदर्थ समितिको संयोजक तथा सदस्यको दीक्षान्त एवं सपथ ग्रहण कार्यक्रममा उहाँले समाजमा रहेको विकृति हटाउन स्काउट अग्रसर हुनेपर्ने कुरामा जोड दिनुभयो । उहाँले स्काउटले बालबालिकालाई राष्ट्रप्रेमी, शुसंस्कृत र अनुशासित बनाउने उल्लेख गर्नुभयो ।

प्रदेशसभा सदस्य दीपक निरौलाले स्काउटले समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा आफ्नो साथ रहेको जाकारी दिनुभयो । प्रदेशका प्रमुख सचिव डा मानबहादुर विश्वकर्माले नवनियुक्त स्काउट तदर्थ समितिलाई शुभकामना दिँदै समाज र राष्ट्र निमार्णमा स्काउटले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।

नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले स्काउटका संरचना विद्यालय तहसम्म लैजान नवगठित तदर्थ समितिलाई आग्रह गर्नुभयो । नेपाल स्काउटले सामाजिक विकृति हटाउन भूमिका खेल्दै तथा राज्यलाई सङ्कट परेको समयमा सघाउँदै आएको र आगामी दिनमा पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै सङ्गठनको भूमिकालाई सशक्त पार्ने उहाँको भनाइ थियो । प्रदेशका नवनियुक्त स्काउट संयोजक केशरत्न बज्राचार्यले स्काउटलाई विद्यालय तहसम्म पु¥याउने र विभिन्न सामाजिक कार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।