६ बैशाख २०८१, बिहीबार

बहुमतप्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नभएको जिकिर

1609511491 78Wsh

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जीतेन्द्रनारायण देवले मुलुकमा राजनीतिक स्थिरताका लागि नेपालको संविधानमा विशेष अवस्थामा मात्र प्रतिनिधिसभा विघटनको व्यवस्था राखिएको बताउनुभएको छ । आजदेखि शुरु भएको राष्ट्रियसभाको आजको बैठकमा उहाँले बहुमतप्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नभएको जिकिर गर्नुभयो ।

उहाँले राजनीतिक स्थिरताका लागि प्रतिनिधिसभाबाटै सरकार गठनका विभिन्न विकल्प राखिएको बताउँदै पार्टीभित्रको समस्यालाई देशको समस्या बनाउन नहुने धारणा राख्नुभयो ।

प्रतिनिधिसभा विघटनको विषय अदालतमा विचाराधीन भएकाले आफ्नो पार्टीले यस विषयमा धेरै नबोल्ने उहाँले बताउनुभयो ।

उहाँले कोरोना भाइरस सङ्क्रमणका क्रममा आर्थिक सङ्कटका अवस्थामा मध्यावधि निर्वाचन घोषणा हुनु मुलुकको हितमा नभएको बताउनुभयो ।

छिमेकी मुलुकबाट पछिल्लो समयमा भएको चलखेलले मुलुकको राष्ट्रियता बलियो नहुने पनि उहाँले बताउनुभयो । उहाँले सरकारले आफ्ना विपक्षी नेताको फोन ट्याप गर्न लागेको भनी आएको समाचारका सम्बन्धमा जवाफ माग गर्नुभयो ।

अध्यादेशमा संविधानको मर्म विपरीत संवैधानिक परिषद्सम्बन्धी व्यवस्था राखिएको आरोप लगाउँदै उहाँले त्यसको खारेजीको माग गर्नुभयो । उहाँले उखु किसानका समस्याको दिगो समाधानका उपाय खोज्न सरकारलाई सुझाव दिनुभयो । परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा र जनस्रोत नीतिका बारेमा सबै दल र सरोकार पक्षसँग छलफल गरेर साझा धारणा बनाउन पनि उहाँले सरकारलाई सुझाव दिनुभयो ।

जनता समाजवादी पार्टीकी प्रमिला कुमारीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुभएको कदम असंवैधानिक भएको जनाउँदै राष्ट्रपतिले यस विषयमा सुझबुझपूर्वक काम गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले प्रतिनिधि पुनःस्थापनाको माग पनि गर्नुभयो ।

किसानका समस्या समाधानमा सरकार गम्भीर नभएको, मुलुकमा भ्रष्टाचार बढेको र संविधानको मर्म विपरीत संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आएको आरोप लगाउँदै उहाँले त्यसको खारेजीको माग गर्नुभयो ।