२६ बैशाख २०८१, बुधबार

भीडभाडसँगै कोरोना सङ्क्रमण बढ्दै

corona contract tracing

विवाहमा हुने भीडभाडका कारण कञ्चनपुरमा कोरोनाको सङ्क्रमण बढाएको छ । विवाह हुने क्रमसँगै भीडभाड भएपछि कोरोना सङ्क्रमण ह्वात्तै बढेको छ । मङ्सिर महिनाको विहेबारीले कोरोनाको सङ्क्रमण बढाएको हो ।

कोरोना सङ्क्रमण रोकथामका लागि भीडभाड नियन्त्रण प्रमुख उपाय ठानिएको भए पनि भीडभाड र तडकभडकका साथ विवाह गर्नेको सङ्ख्यामा वृद्धि हुँदा सङ्क्रमण बढ्दै गएको छ । यातायातका साधनमा समेत स्वास्थ्यका मापदण्ड पूरा नगरिकन नै क्षमताभन्दा बढी यात्रु राख्ने गर्दा पनि कोरोनाको सङ्क्रमण बढाइएको छ । मङ्सिर महिनामा मात्रै कोरोना सङ्क्रमणका १०० बढी सक्रिय बिरामी थपिएका छन् । मङ्सिर अघिसम्म यो सङ्ख्या ३० जनाको हाराहारीमा थियो ।

कोेरोना सङ्क्रमणबाट मर्नेको सङ्ख्या पनि बढेको छ । यस अवधिमा ११ जनाले कोेरोनाबाट ज्यान गुमाएका छन् । मङ्सिरमा विहे र शिक्षण संस्था खुलेपछि सक्रिय सङ्क्रमितको सङ्ख्या एकाएक बढेर १८२ पुगेको छ । कोरोना भाइरसका बिरामी बढ्न थालेपछि सञ्चालन भएको एक सातामै विद्यालय भने बन्द गरिएका छन् ।

दोधारा चाँदनी र बेलौरी नगरपालिकामा एक साताका लागि लकडाउन गरिएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले लकडाउन खुलेर भीडभाड बढेपछि एकाएक सङ्क्रमण बढेको देखिएको बताउनुभयो । “यातायात खुल्यो, स्कूल खुले, सबै ठाउँमा भीडभाड भयो”, उहाँले भन्नुभयो, “विहे र त्यसमा गरिएका पार्टीले त झन सङ्क्रमणलाई बढाइ दिएको छ ।”

कोरोना सङ्क्रमण नियन्त्रणका लागि भीडभाड नगर्नबाहेक अन्य उपाय नभएकाले पछिल्लो पटक बढेको सङ्क्रमणले चिन्ता बढेको स्वास्थ्य प्रमुख सुनारले बताउनुभयो । “भीडभाड नगर्नेबाहेक हामीसँग बच्ने अरु कुनै उपाय नै छैन”, उहाँले भन्नुभयो, “त्यसो नहुँदा यो सङ्क्रमण बढेको छ, अब सचेत भएर जानुपर्ने आवश्यकता छ ।”

कोरोना सङ्क्रमणका कारण घर फर्किएका भारतीय मजदूर निर्वाध रुपमा महेन्द्रनगरसहित क्षेत्रमा काममा फर्किएका छन । भारतीय मजदूर सीमाबाट आउँदा स्थानीय प्रशासनले मौन भएर बसेको छ । सीमामा कोरोना जाँच नगरी आएका उनीहरुबाट सङ्क्रमण फैलिएको आशङ्का गरिएको छ । स्थानीय प्रशासनको लापरवाहीले डोकेबजार नाका र दोधारा चाँदनी नाकाबाट दैनिक रुपमा धेरै जनाको आउजाउ हुने गरेको छ । प्रशासन कार्यालय, आन्तरिक राजश्व कार्यालय, बेलौरी नगरपालिका, पुनःवास नगरपालिकालगायतका कार्यालयमा कोरोना सङ्क्रमण देखिएको थियो ।

जिल्ला प्रहरी कार्यालय र कारागारमा पनि कोरोना देखिएको थियो । शिक्षण संस्थामा पनि पठनपाठन शुरु भएपछि कोरोना देखिन थालेको छ । हालसम्म कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ४७१ पुगेको छ । रोग निको भएर घर फर्कनेको सङ्ख्या एक हजार ३०१ जना रहेका छन् । अस्पतालको आइसोलेशनमा ३२ जना र घरमै आइसोलेशनमा बसेका बिरामीको सङ्ख्या १३१ रहेका छन् ।