१३ बैशाख २०८१, बिहीबार

आत्महत्या दुरुत्साहनमा पञ्च पक्राउ

Rape 2

सामूहिक बलात्कारपछि आत्महत्या गरेको घटनाका आरोपित पञ्च सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरका ५० वर्षीय शत्रुघ्न मण्डल आज पक्राउ परेका छन् । पीडित परिवारलाई उजूरी फिर्ता लिन र बयान परिवर्तन गर्न दवाव दिँदै गाउँघरमै बस्दै आएका मण्डललाई राजविराज आएका बेला प्रहरीले पक्राउ गरेको हो ।

आरोपितलाई आज सप्तरी जिल्ला अदालतमा हाजिर गराइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताउनुभयो । अदालतले गत मङ्सिर २६ गते पक्राउ पुर्जी जारी गर्दै पक्राउ नपरेका मण्डलसहित नौ आरोपितलाई तदारुकताका साथ खोजतलास गरी अदालतमा उपस्थित गराउन इलाका प्रहरी कार्यालय कल्याणपुरलाई पत्राचार गरेको थियो ।

धानखेतमा पानीको अवस्था हेर्न गएकी पीडित १७ वर्षीयामाथि भदौ २९ गते चार जनाले बलात्कार गरेको जानकारी दिँदै पीडित र पीडितकी आमा प्रहरीसमक्ष जान खोज्दा पञ्चले रोकेका थिए । पीडितकी आमाका अनुसार पञ्च शत्रुघ्नका घरमा १० पञ्चले पञ्चायत बसी पीडित पक्षलाई धम्क्याउँदै भदौ ३० गते उजूरी गर्न रोकेका थिए । उनीहरूले आरोपितबाट रु ५५ हजार क्षतिपूर्ति भराउने निर्णयसमेत गर्दै पीडितलाई धम्क्याउँदै प्रहरीसमक्ष उजूरी नगर्न दवाव दिएका थिए ।

पञ्चहरुले अस्मिताको मूल्य तोक्दै पञ्चायतमा हाँसोको पात्र बनाएपछि पीडितले सोही राति आत्महत्या गरेकी थिइन् । प्रहरीले आत्महत्या दुरुत्साहनमा भदौ ३० गते शत्रुघ्नका दाजु ६५ वर्षीय जयकान्त, ६० वर्षीय वासुदेव र ५० वर्षीय सत्यनारायण मण्डललाई तथा बलात्कारका आरोपमा १७ र १६ वर्षीय बालकलाई गत असोज १ गते राति पक्राउ गरेको थियो ।

डाक्नेश्वरी– ७ ललितपुरका १७ र १६ वर्षीय बालक, २७ वर्षीय धर्मदेव मण्डल र २५ वर्षीय बिसु भनिने विष्णु मण्डलले बलात्कार गरेको पीडितकी आमाले बताउनुभयो । घटनाको उजूरी गर्न पञ्चले रोक लगाएपछि छोरीले आत्महत्या गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय, कल्याणपुरमा असोज १ गते उजूरी दर्ता गराउनुभएको थियो ।

अदालतले असोज २७ गते १७ र १६ वर्षीय दुई आरोपितलाई पुर्पक्षका लागि बालसुधारगृह वीरगञ्ज पठाउने आदेश गरेको छ । यसैगरी आत्महत्या दुरुत्साहन मुद्दामा जयकान्त, वासुदेव र सत्यनारायण जनही रु एक लाख १० हजार धरौटी राखेर पुर्पक्षका लागि रिहा भएका छन् ।

प्रहरीचौकी प्रवाहाका प्रहरीले गाउँघरमै रहेका आरोपितलाई पक्राउ नगरेपछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालयलाई सम्पर्क गरी आरोपित शत्रुघ्न राजविराज आएको खबर गरेको थियो । खबर पाएपछि जिल्ला प्रहरी कार्यालयको टोलीले शत्रुघ्नलाई पक्राउ गरेको हो ।

बलात्कारका आरोपमा अदालतले धर्मदेव र विष्णु मण्डलविरुद्ध तथा आत्महत्या दुरुत्साहनका आरोपमा शत्रुघ्न, उनका भाइ देवु, झमेली मण्डल, उचितलाल मण्डल, रामजी भनिने बेचन मण्डल, विन्देश्वर मण्डल र वंशराज मण्डलविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।