२१ बैशाख २०८१, शुक्रबार

संसद विघटनसँगै उच्च सुरक्षा सतर्कता, ४ वटै सुरक्षा निकाय हाइ अलर्टमा

1586359116Police1

आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद विघटनको निर्णय गरेसँगै नेपाली राजनीतिमा पुनः अर्को तरंग आएको आएको छ । आकस्मिक रुपमा डाकिएको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव राखेका थिए । सोही विघटनको निर्णय लिएर प्रधानमन्त्री ओली अहिले शीतल निवास पुगेका छन् ।

मन्त्रिपरिषद्‍ बैठकले संसद् विघटनको निर्णय गरेसँगै उच्च सुरक्षा सतर्कता अपनाउन चारै वटा सुरक्षा निकायले मातहतका निकायलाई निर्देशन दिएका छन्।

सरकारको उक्त निर्णयसँगै काठमाडौँमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान परिषद्लाई उच्च सुरक्षा सकर्तता अपनाउन निर्देशन दिइएको छ ।

सरकारको निर्णयसँगै आउन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरी उच्च सुरक्षा सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिइएको सम्बन्धिन सुरक्षा निकायका स्रोतले जानकारी दिएका छन्।

प्रहरी प्रधान कार्यालयले मातहतका सबै निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन जारी गरेको मुख्यालय स्रोतले जानकारी दियो। ‘सरकारबाट कुनै पनि निर्देशन आएको छैन। तर विघटनको सिफारिससँगै चुनौतीलाई दृष्टिगत गरी हामीले मातहतका निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छौं,’ मुख्यालय स्रोतले भन्यो।

‘ठूला राजनीतिक घटना हुँदा स्वाभाविक रुपमै सुरक्षा सतर्कता बढाउन निर्देशन दिइएको हुन्छ, यस्तै निर्देशन गएको छ,’ प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले भने।

मुख्यालयले यस्तो बेला सडकमा आन्दोलन हुने, स्थिति भड्किने र त्यसले कानुनविपरीतका क्रियाकलाप निम्त्याउन सक्ने भएकाले नियन्त्रण गर्न निर्देशन दिएको बताइएको छ।

यस्तै नेपाली सेनाले पनि उच्च सुरक्षा सतर्कता अपनाउन सबै पृतनापतिहरूलाई निर्देशन जारी गरेको छ। सैनिक स्रोतले भनेको छ, ‘सबै पृतनापतिलाई सतर्क रहन भनिएको छ।’ यस्तै गुप्तचर र सशस्त्र प्रहरीले पनि सुरक्षा सतर्कता अपनाउन निर्देशन गरेका छन्।