१६ चैत्र २०८०, शुक्रबार

सीमान्तकृत समुदायको आवासमा पहुँच पुर्याउँछौँ : मुख्यमन्त्री भट्ट

Trilochan Bhatta Chief Minister Province Seven

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमान्तकृत समुदायको आवासमा पहुँच पुर्याइने बताउनुभएको छ । मङ्गलबार कञ्चनपुरको वेदकोट नगरपालिका–५ धर्मपुरमा मुख्यमन्त्री एकीकृत आवास कार्यक्रमअन्तर्गत भूमिहीनहरुका लागि निर्माण हुने आवासको शिलान्यास कार्यक्रममा उहाँले प्रदेशका सुकुम्बासी, भूमिहीन, विपन्न परिवारका लागि नौवटै जिल्लामा सुरक्षित आवास निर्माण गरिने बताउनुभयो ।

उहाँले घरबारविहीन कमजोर वर्गका बासिन्दाका लागि चालु आवमा सञ्चालित कार्यक्रमअन्तर्गत १०० भन्दा बढी घर निर्माण गर्ने लक्ष्य लिइएको बताउनुभयो । प्रदेशका सबै जिल्लामा सुरक्षित आवास निर्माणका लागि अध्ययन कार्य भइरहेको कुरामा जोड दिँदै उहाँले खानेपानी, विद्युत्, स्वास्थ्य, सडकलगायतका पूर्वाधारसमेत आवास क्षेत्रमा पुर्याइने बताउनुभयो । उहाँले भन्नुभयो, “थोरै घरहरुबाट निर्माणकार्य कार्यक्रम सञ्चालन गरेका छौँ, यसलाई ठूलो स्तरमा अगाडि बढाउने योजना छ ।”

घरवासविहीन परिवारका लागि सुविधायुक्त बस्ती विकास गरी रोजगारीसँग जोड्नका लागि जडीबुटी, कृषिलगायत आयआर्जनका कार्यक्रमसँग जोडेर लैजाने योजनासमेत साथसाथ लैजाने सोच अघि सारिएको उहाँले बताउनुभयो । सुरक्षित आवास बनाउने योजना गत वर्ष नै तयार गरिएको चर्चा गर्नुहँुदै उहाँले कोभिड सङ्क्रमणका कारण कार्यक्रम अगाडि बढाउन नसकिएको बताउनुभयो ।

उद्यम गर्नका लागि बिनाधितो कर्जा कार्यक्रमसमेत सञ्चालन गरिएकाले यसबाट विपन्न परिवारलाई व्यवसायसँग जोडेर स्वरोजगार बनाउन मद्दत पुग्ने उहाँले बताउनुभयो । फरक प्रसङ्गमा बोल्दै उहाँले प्रदेश सरकारले एक हप्ताअघि प्रदेशअन्तर्गतका सबै अस्पतालमा अक्सिजन प्लान्ट र ल्याबको व्यवस्था गर्ने निर्णय गरेको बताउनुभयो ।

मङ्गलबार मात्रै प्रदेश सरकारको मन्त्रिपरिषद्ले द्वन्द्वका क्रममा बन्द भएको मझगाउँ विमानस्थल सञ्चालनका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकार मिलेर स्तरोन्नति गर्नेलगायतका काम अगाडि बढाउने निर्णय गरेको उहाँले बताउनुभयो ।

भूमि व्यवस्था तथा सहकारीमन्त्री विनिता चौधरीले पिछडिएको समुदायलाई प्राथमिकतामा राखेर एकीकृत बस्ती विकासको कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले कञ्चनपुरको वेदकोट नगरपालिका–५ धर्मपुर, डोटीको सिलगढी, कैलालीको भजनी र अछामको मेललेकमा एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत चालु आवमा सुरक्षित आवास निर्माणका लागि कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

जोखिमयुक्त बस्तीलाई सुरक्षित बनाउनका लागि डिपीआर तयार गरी बस्ती विकास गर्न लागिएको उल्लेख गर्नुहँुदै उहाँले बस्ती विकाससँगै कृषिसँग सम्बन्धित आयआर्जनका कार्यक्रमलाई समेत सँगसँगै जोडेर लैजानका लागि योजना बनाइएको बताउनुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य नरबहादुर धामीले आवास पाउने अधिकार संविधानतः सबै नागरिकलाई भएको बताउनुभयो । संविधानमा भएको व्यवस्थासँगै चुनावमा गरिएका प्रतिबद्धताअनुसार घरवारविहीन परिवारलाई प्राथमिकतमा राखेर आवास निर्माण भइरहेको उहाँले बताउनुभयो ।

आवाससँगै वर्षौँदेखि भूमिको मालिक हुन नसकेका परिवारलाई जग्गा धनीपुर्जा वितरण कार्य गर्ने उहाँले बताउनुभयो । संविधानसभाका सदस्य टेकेन्द्रप्रसाद भट्टले विपन्न परिवारलाई आवास दिएर वर्तमान सरकारले चुनावमा गरेको प्रतिबद्धता पूरा गरेको बताउनुभयो । हरेक नागरिकले आवास पाउने मौलिक हकमा व्यवस्था भएअनुसार त्यसको कार्यान्वयन गर्ने कार्य गरिएको उहाँले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्काले वेदकोटको धर्मपुर सुकुम्बासी, भूमिहीन, मुक्त कमैया र मुक्त हलियाको बसोवास रहेको क्षेत्रका रूपमा परिचित रहेकाले प्राथमिकतामा राखेर आवास निर्माणको काम हुन लागेको बताउनुभयो । समाजमा पिछडिएका समुदायलाई विकासको मूलप्रवाहमा ल्याउनका लागि आवासको व्यवस्थासँगै जीवन निर्वाह गर्नका लागि व्यावसायिक कार्यमा समेत जोड्ने योजना ल्याउन लागेको उहाँले बताउनुभयो ।

वेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले नगरपालिकाको दुर्गम क्षेत्रमा रहेको बस्तीका विपन्न परिवारका लागि आवास निर्माण गर्ने काम गरेर प्रदेश सरकार धन्यवादको पात्र भएको बताउनुभयो । वेदकोट–५ धर्मपुरमा मुख्यमन्त्री एकीकृत नमूना बस्ती कार्यक्रमअन्तर्गत आवासविहीन परिवारका लागि प्रदेश सरकारले २५ र हेविटाट नामक गैरसरकारी संस्थाले पाँच गरी ३० शौचालयसहितका दुईकोठे घर निर्माण गरिनेछन् ।

सो बस्तीमा यसअघि सांसद धामीको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत आठवटा सुरक्षित घर निर्माण भइसकेका छन् । तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत बस्तीका पाँचवटा परिवारका लागि घर निर्माणको काम नगरपालिकाले शुरु गरेको छ ।