८ बैशाख २०८१, शनिबार

कृषिउपजको चौमासिक निकासी विवरण सुधारोन्मुख

Trade and

आर्थिक वर्ष २०७७/७८ (साउन–कात्तिक)मा कृषिजन्य पदार्थको निकासी सुधारोन्मुख देखिएको छ । नेपालबाट निकासी हुने चिया, अलैँची र अदुवाको स्थिति गएका वर्षमा भन्दा सुधारिएको देखिएको हो ।

विदेश निर्यात हुने सामग्रीमध्ये यस वर्ष चिया चौथो धेरै निकासी हुने सामग्री देखिएको छ भने अलैँची साताँै र अदुवा २० औँ स्थानमा परेको छ । विदेश निकासी हुने प्रमुख वस्तु पाम तेल १०० प्रतिशत घट्नाले पनि कृषिजन्य वस्तुको निकासी बढी देखिएको हो ।

विगतका वर्षमा पाम तेलले निकासीमध्ये पहिलो वा दोस्रो स्थान ओगट्थ्यो । व्यापार तथा निकासी प्रवद्र्धन बोर्डको तथ्याङ्कअनुसार जम्मा निकासी हुने वस्तुमध्ये चियाले पाँच दशमलव आठ प्रतिशत, अलैँचीले पाँच दशमलव एक प्रतिशत र अदुवाले शून्य दशमलव पाँच प्रतिशत ओगटेको देखिन्छ । विगतका चार महिनामा ७४ लाख १० हजार ३८६ किलोग्राम चिया निर्यात हुँदा रु दुई अर्ब ३३ करोड चार लाख ४७ हजार आम्दानी भएको छ । यस्तै यस वर्ष अलैँची २५ लाख ६२ हजार २४ किलोग्राम निर्यात हुँदा रु दुई अर्ब तीन करोड ४५ लाख २५ हजार बराबरको आय भित्रिएको देखिन्छ ।

बोर्डको तथ्याङ्कअनुसार यस अवधिमा ३९ लाख ५० हजार ७०० किलोग्राम अदुवा नेपालबाट निर्यात भएको छ । यस वर्ष अदुवाबाट रु २१ करोड ९९ लाख ४९ हजार आर्जन भएको देखिन्छ । गत वर्षको तुलनामा यो चार महिनामा चियामा ९९ दशमलव चार प्रतिशत, अलैँची ३२ दशमलव एक प्रतिशत र अदुवा ३१ दशमलव नौ प्रतिशत सुधार आएको छ ।

कोरोना महामारीमा पनि कृषिजन्य पदार्थको निकासी उल्लेख्य रहेको देखिन्छ । गत वर्षमा चार महिना (साउन–कात्तिक)मा चिया ४४ लाख ६ हजार ९८५ किलोग्राम, अलैँची १९ लाख १३ हजार ५५७ किलोग्राम र अदुवा ३४ लाख ८२ हजार ५०५ किलोग्राम निकासी भएको थियो । यसबाट गत वर्ष अलैँचीबाट रु एक अर्ब ५४ करोड छ लाख ५२ हजार, चियाबाट रु एक अर्ब १६ करोड ८८ लाख ९७ हजार र अदुवाबाट रु १६ करोड ६६ लाख ९५ हजार बराबरको आय भित्रिएको थियो ।

समग्र आयात–निर्यातमा समेत यस वर्ष नेपालको व्यापार सुधारोन्मुख देखिएको छ । गत वर्षको चार महिना (साउन–कात्तिक) र यस वर्ष(साउन–कात्तिक)को तथ्याङ्क तुलना गर्दा निर्यात १० दशमलव आठ प्रतिशतले वृद्धि भएको छ भने आयात १० दशमलव छ प्रतिशतले घटेको देखिन्छ ।

    सम्बन्धित समाचार...