१६ चैत्र २०८०, शुक्रबार

पौष १० बाट एकतर्फी रुपमा हल खोल्ने हल व्यवसायीको घोषणा

film hall

नेपाल चलचित्र संघले आगामी पौषको १० गतेबाट एकतर्फी रुपमा फिल्म हल खोल्ने घोषणा गरेको छ। आज हल व्यवसायीहरुको छाता संगठन चलचित्र संघले पत्रकार सम्मेलन गर्दै उक्त घोषणा गरेका हो।

नौ महिना देखि बन्द रहेको फिल्म हल ख्ुलाउन सरकारले बारम्बार आफूहरुको मागलाई वेवास्ता गरेको भन्दै एकतर्फी हल खोल्ने घोषणा गरिएको संघका अध्यक्ष मधुसुदन प्रधानले बताए।

उनले पटक पटक सरकारलाई हल खोल्न आग्रह गर्दा पनि सरकारले नटेरेको कारण बाध्य भएर आफैले हल खोल्ने निर्णय गर्नु परेको बताए।

‘सरकारसँग हामीले विगत ७ महिनादेखि माग राख्दै आएका छौ । हरेक पटकको भेटमा हामीलाई आश्वासन मात्र दिने काम भयो,’ चलचित्र संघका महासचिव अशोक शर्माले भने। सरकारले फिल्म हल खोल्दा कुनै अवरोध गरेको खण्डमा चलचित्रकर्मीले गिरफ्तारी दिन पनि पछि नपर्ने महासचिव शर्मा बताए । संघले ५० प्रतिशत अकुपेन्सीमा सुरक्षा मापदण्ड अपनाएर हल खोल्ने तयारी गरेको छ। चलचित्र संघका अध्यक्ष प्रधानका अनुसार लकडाउन भएदेखि यता हल बन्द हुँदा हल व्यवसायीलाई २ अर्ब भन्दा बढी घाटा लागेको छ। यो कदमलाई आन्दोलनको सुरुवाती चरणको रुपमा वुझिदिन सरकार समक्ष चलचित्र संघले आग्रह गरेको छ ।

संघले फिल्म क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सम्बोधन हुनुपर्ने, फिल्म हल संचालन नभएको अवधिको विद्युत महशुलको डिमाण्ड चार्ज पूर्णरुपमा मिनाहा हुनपर्ने जस्ता माग अघि सारेका छन्। त्यस्तै, मौद्रिक नीति फिल्म क्षेत्रमा अनिवार्य रुपमा कार्यन्वयन हुनुपर्ने, फिल्म प्रदर्शन व्यवसायकले उद्योगको मान्यता पाउनुपर्ने मागमा भनिएको छ।

संघले मनोरञ्जन कर खारेज हुनुपर्ने, दुई बर्षसम्म नेपाली फिल्ममा मुल्य अभिवृद्धी कर मिनाहा हुनुपर्ने, चलचित्र विकास शुल्क खारेज हुनुपर्ने, बाँकी बक्यौता कर तथा शुल्कहरु २०७८ साल अषाण मसान्तसम्म वुझाएमा सम्पूर्ण जरिवाना मिनाहा हुनुपर्ने, फिल्म हलको लागि आवश्यक उपकरण तथा सामाग्रीहरुमा भन्सार महसुल छुट दिनुपर्ने माग संघले अघि सारेको छ।

फिल्म क्षेत्रका विभिन्न संघ संस्थाले फिल्म हल खुलाउन गरेको आग्रहलाई सरकारले पटक पटक आश्वासन दिदै आएको छ। तर ,कहिलेबाट हल खुलाउने भन्ने मिति तोकेको थिएन। धेरै फिल्म हल धरासायी अवस्थामा पुगेको भन्दै फिल्मकर्मी चिन्तित अवस्थामा पुगेका थिए। सरकारले पौष १० बाट नै हल खोल्न दिन्छ भन्ने कुनै ग्यारेन्टी अझैँ देखिएको छैन।

131104911 1317340881966604 4059534346057758260 n

    सम्बन्धित समाचार...