१२ बैशाख २०८१, बुधबार

रोनाल्डोको दुई गोलमा युभेन्ट्स विजयी, एसी मिलान बराबरीमा रोकियो

cristiano ronaldo genoa juventus

क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा युभेन्ट्सले इटालियन सिरी ए मा जेनोओलाई ३-१ ले पराजित गरेको छ ।

जेनोओलाई उसैको मैदानमा पराजित गर्न रोनाल्डोले दुवै गोल पेनाल्टीबाट गर्दा पाउलो डिबलाले एक गोल गरे । युभेन्ट्सका लागि एक सयौँ खेलमा रोनाल्डोले दुई गोल गरेका हुन् ।

जेनोओले पहिलो हाफमा युभेनट्सलाई गोलरहित बराबरीमा रोके पनि ५७औं मिनेटमा डिबलाको गोलबाट युभेन्ट्सले अग्रता लिएको थियो । तर चार मिनेटपछि नै स्टेफानो स्टुअरोले जेनोअका लागि बराबरी गोल फर्काए । त्यसपछि रोनाल्डोले दुई गोल गर्दै युभेन्ट्सको जित पक्का गरे ।

७८औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट व्यक्तिगत पहिलो गोल गर्दै युभेन्ट्सलाई फेरि अग्रता दिलाए । जेनोअको निकोलो रोभेलाले हुवान क्वाड्राडोलाई फाउल गरेपछि युभेन्ट्सले पेनाल्टी पाएको थियो ।

यस्तै ८९औं मिनेटमा पनि रोनाल्डोले पेनाल्टीमै गोल गरे । जेनोओका माटिअ पेरिनले अल्भारो मोराटालाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले गोल गरे ।

जितपछि ११ खेलबाट २३ अंक जोडेको युभेन्ट्स चौथो स्थानमै छ । नापोली समान अंक भएपनि युभेन्ट्स गोलअन्तरमा पछि छ ।

नापोलीले घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै साम्पडोरियामिथ २-१ को पुनरागमन जित हात पारेको हो । २०औं मिनेटमा जाकुब जान्क्टोले गोल गर्दै साम्पडोरियालाई पहिले अग्रता दिलाएका थिए । तर ५३औं मिनेटमा हिर्भिन लोजानोले नापोलीका लागि बराबरी गोल फर्काए । ६८औं मिनेटमा आन्द्रे पेटागाले विजयी गोल गरे ।

एसी मिलान रोकियो

लिग लिडर एसी मिलान भने पार्मासंग बराबरीमा रोकिएको छ । थियो हर्नान्डेजले इन्जुरी टाइममा गोल गरेपछि मिलानले पार्मासँग २-२ को बराबरी खेल्दै हार्न टार्न सफल भएको हो । घरेलु मैदानमै दुई गोलले पछि परेको अवस्थामा मिलानले पुनरागमन गरेको हो ।

१३औं मिनेटमा हेर्नानलीले गोल गर्दै पार्मालाई पहिले अग्रता दिलाएका थिए । २४औं मिनेटमा मिलानका सामुएल कास्टिलेजोले बराबरी गोल फर्काए पनि भिएआर रेफ्रीले त्यसलाई मान्यता दिएन ।

जस्मिन कुर्टिकले ५६औं मिनेटमा गोल गर्दै पार्माको अग्रता दोब्बर पारे । तर थियो हर्नान्डेजले दुई गोल फर्काउदै मिलानलाई हारबाट जोगाए । उनले ५८औं मिनेटमा पहिलो र इन्जुरी टाइममा दोस्रो गोल गरे ।

बराबरीपछि पनि ११ खेलबाट २७ अंक जोड्दै मिलान शीर्ष स्थानमा आसिन छ । दोस्रो स्थानको इन्टरको समान खेलबाट २४ अंक छ ।