२३ बैशाख २०८१, आईतवार

सबै वडामा घरेलु औजार उद्योग

aran copy
फाइल फोटो

पर्वतको फलेवास नगरपालिकाका सबै वडामा घरेलु औजार उद्योग स्थापना गरिने भएको छ । ग्रामीण क्षेत्रमा आवश्यक घरलु उपयोगका औजार निर्माण गर्ने र विपन्न नागरिकको आयआर्जनमा सघाउ पु¥याउने उद्देश्यले फलेवासका ११ वटै वडामा औजार उद्योग स्थापना गर्न थालिएको हो । गत आर्थिक वर्षदेखि बजेट विनियोजन गरेर उद्योग स्थापना गर्ने अभियान थालिएको छ । यस वर्ष तीन वटा वडामा उद्योग स्थापना हुने छन् भने बाँकी चालु आर्थिक वर्षको अन्त्यतिरदेखि निरन्तर स्थापना गरिँदै लैजाने फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष वडा नं ८ ठानामौला, वडा नं १ कार्किनेटा र वडा नं ४ चुरीमा उद्योग स्थापना शुरु गरिएको छ । प्रत्येक उद्योगका लागि आवश्यक सामग्री नगरपालिकाले सहयोग गर्ने नगरप्रमुख शर्माले जानकारी दिनुभयो ।

घरेलु औजार उद्योगमा ग्रामीण क्षेत्रमा आवश्यक पर्ने हसिया, बाउसा, कोदाली, बन्चरो, आरा, करौती, खुकरी, फलामका विभिन्न भाँडाकुडा, हलो, तथा तामाका भाँडाकुडा निर्माण हुने छन् । जसले आयातीत वस्तुलाई विस्थापन गरी विपन्न नागरिकको आयआर्जनमा सुधार हुने विश्वास लिइएको नगरप्रमुख शर्माले जानकारी दिनुभयो ।

फलेवास नगरपालिकामा १०९ आरन व्यावसाय रहेका छन् । तीनहरुलाई गत वर्षदेखिनै आरन सुधार अभियानअन्तर्गत आधुनिक सामग्री नगरपालिकाले वितरण गरिसकेको छ । नगरपालिकाले रु ३६ लाख विनियोजन गरेर परम्परागत घरेलु औजार उद्योगलाई प्रवद्र्धनको काम अघि बढाएको नगरप्रमुख शर्माले बताउनुभयो । विपन्न नागरिकले निर्वाहमुखीरुपमा सञ्चालन गर्दै आएको आरन पेशालाई आधुनिकीकरण गर्दै नगरपालिकाभित्र चाहिने फलाम र तामाका सामान उत्पादन गर्ने अभियान प्रभावकारी हुने नगर उपप्रमुख मन्जु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं ८ ठानामौलाको नमूना एकीकृत बस्तिवाट उद्योग स्थापनाको अभियान थालिएको हो ।

अभियान थालनी गर्दै नगरप्रमुख शर्माले हरेक ठाउँको विकासको लागि सोही ठाउँका निश्चित वर्गले नेतृत्व लिनुपर्नेमा जोड दिँदै असङ्ठित वर्गका श्रमिकको जीवनस्तर उकास्नको लागि नगरपालिकाले नयाँ र नमूना कार्यक्रम अघि सारेको जानकारी दिनुभयो । दलित समुदाय रहेका बस्तीलाई लक्षित गरी यो कार्यक्रम अघि सारिएको हो । यो कार्यक्रमका लागि आगामी वर्षदेखि निरन्तर वजेट विनियोजन गरेर उद्योग थप गर्दै लैजाने फलेवासका प्रमुख प्रशासकीय अधिकृत मुक्तिाम रिजालले बतााउनुभयो ।

पर्वतको कुश्मामा साहसिक खेल जिपलाइन निर्माण शुरु

अग्ला र लामा पुल तथा साहसिक खेलको विकास भइरहेको पर्वतमा जिपलाइन बन्ने भएको छ । बन्जीजम्प रहेको नजिकै कुस्मा नगरपालिका–५ चाक्लेको डिलबाट साउने बगरसम्म एक हजार ४०० मिटर लम्बाइको जिपलाइन निर्माण गर्न लागिएको हो । हार्नेस जिपलाइन प्रालि पर्वतले रु ११ करोडको लागतमा जिपलाइन निर्माण शुरु गरेको हो ।

जिपलाइनको शुक्रबार पर्वतको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले शिलान्यास गर्नुभएको छ । धौलागिरिको प्रवेशद्वारको रुपमा रहेको पर्वत सदरमुकाम कुश्माबजारमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले जिपलाइनसहित कालीगण्डकी नदिरको किनारमा सुविधासम्पन्न रिसोर्ट निर्माण गर्न थालिएको सञ्चालक सागर जोशीले जानकारी दिनुभयो ।

यो जिपलाइन सुपर म्यान शैलीमा निर्माण गर्न लागिएको भारतीय निर्माण कम्पनी श्याम जिपलाइनका इञ्जिनीयर नवीन मेस्सीले बताउनुभयो । “क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने सुपर म्यानमा सुपर म्यानजस्तै घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ ।” उहाँले भन्नुभयो, “यहाँबाट नजिकको जिपलाइन पोखरामा रहेको छ । त्यहाँको जिपलाइन क्लासिक हो जसको लम्बाई एक हजार ८०० मिटर छ ।” सुपर म्यान शैलीमा विश्वको सबैभन्दा लामो दुई हजार ८०० मिटरको जिपलाइन दुबईमा रहेको छ । जसको निर्माण अमेरिकी कम्पनीले गरेको थियो ।

इञ्जिनीयर मेस्सीका अनुसार पर्वतको जिपलाइनमा एकै पटकमा दुई जनासँगै झुन्डिन मिल्छ भने ६० देखि ९० सेकेन्डको समय अवधिभित्रमा यात्रा पूरा हुन्छ । हावाको गति र खेलाडीको तौलमा जिपलाइनको गति भर पर्ने भए पनि जिपलाइनमा यात्रा शुरु गर्दा प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने उहाँको भनाइ छ । कालीगण्डकी नदीको सतहबाट २३८ मिटरको उचाइबाट यात्रा शुरु हुनेछ भने त्यसको ल्यान्डिङ कालीगण्डकी नदी किनारमा बन्ने रिसोर्टमा हुनेछ ।

जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्नेछ । खेलका क्रममा खेलाडी जोखिममा परेर उद्धार गर्नुपर्ने भएमा एक मिनेटभित्रमा उद्धार गरिने इञ्जिनीयर मेस्सीले बताउनुभयो । जिपलाइनका एक जना लगानीकर्ता समेत रहनुभएका कुस्मा नगरपालिकाका प्रमुख जोशीले कुस्मामा बन्ने जिपलाइनले कालीगण्डकी नदीलाई दुई ठाउँमा नाघेर जाने भएकाले अन्यत्र ठाउँमा रहेका जिपलाइनभन्दा यहाँ आकर्षण बढी हुने बताउनुभयो ।

“पर्वत जिल्ला अब साहसिक खेलको जिल्लाका रूपमा चिनिन थालेको छ । बञ्जीजम्प, स्काइसाइक्लिङ, रक क्लाइम्बिङ रहेको यो ठाउँमा अब विश्वकै दोस्रो लामो सुपर म्यान जिपलाइन बन्ने भयो”, उहाँले भन्नु्भयो, “यसले पर्वत जिल्लासहित बागलुङ र म्याग्दी जिल्लामा पनि पर्यटक तान्न सहयोग गर्छ । मुस्ताङको साहसिक यात्रा गरेर आउनेलाई जिपलाइनले कुस्मामा आकर्षण गर्छ ।” जिपलाइन, रिसोर्ट र अन्य साहसिक खेल निर्माणको लागि प्रारम्भिकरूपमा रु ११ करोड खर्च लाग्ने अनुमान गरिएको छ । जसमा नगरप्रमुख जोशीसहित, नरेन्द्र केसी, राजकुमार बस्नेत, सागर जोशी, विदुर पौड्याल, सूर्यबहादुर क्षेत्री र सुनिल बानियाँले लगानी गर्ने भएका छन् ।