१४ बैशाख २०८१, शुक्रबार

जनतालाई अधिकार सम्पन्न बनाउन राज्य बलियो हुनुपर्छ : मुख्यमन्त्री पोखरेल

shankar pohkrel

रूकुमपूर्व, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले जनतालाई अधिकार सम्पन्न बनाउनका लागि राज्य बलियो हुनुपर्ने बताएका छन्।

प्रदेश नम्बर ५ को एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा पहिलो पटक पुगेका मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार सधैँ नागरिकको हकहितको पक्षमा रहेको बताए।

मौलिक कला, परम्परा र संस्कृतिले भरिएको रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकास्थित तकसेरामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै उनले प्रदेशलाई सम्पन्न बनाउनका लागि प्रदेश सरकारले व्यवस्थित योजना बनाएर अगाडि बढिरहेको जानकारी दिए।

प्रदेश सरकारले पनि कृषिलाई नै पहिलो प्राथमिकता दिएर अगाडि बढिरहेको बेलामा रुकुम पूर्वको उत्पादनले बजार नपाएको खण्डमा बजारसम्म पुर्‍याउन अनुदानका लागि प्रदेश सरकार तयार रहेको उनको भनाइ छ।

संघीयता कार्यान्वयनपछिको ७७ औँ जिल्लाका रुपमा रहेको रुकुम पूर्वको जिल्ला सदरमुकामको टुङ्गो लागि नसकेको अवस्थामा उनले यस विषयमा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतले जे फैसला गर्छ त्यो जनताले स्वीकार्नुपर्ने बताए।

उत्तरगङ्गा नदी डाईभर्सनको बारेमा पनि बोल्दै उनले रुक्मेली जनताको सहमतिबिना उक्त आयोजनाको काम अगाडि बढ्न नसक्ने बताए। उत्तरगङ्गा डाईभर्सनको कुरा छलफलमै भएको हुँदा रुकुम पूर्वको हितलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउने उनको भनाइ छ।

    सम्बन्धित समाचार...