१६ चैत्र २०८०, शुक्रबार

साझालाई गतिशील बनाएर प्रतिस्पर्धी क्षमता विकास गर्नुपर्छ : मन्त्री अर्याल

padma aryal

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्याकुमारी अर्यालले साझा प्रकाशनलाई गतिशील बनाएर प्रतिस्पर्धी क्षमता विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय सहकारी विकास बोर्डको ५७ आँै स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित ‘साझा प्रकाशनः आजको सन्दर्भ’ विषयक विचार गोष्ठी कार्यक्रममा मन्त्री अर्यालले यस संस्थाको गरिमा बढ्ने काम गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “विगतका गौरव र विरासतलाई जोगाउनु संस्थाको चुनौती हो, दक्षिण एशियाको सबैभन्दा पुरानो संस्थाको समस्या पहिचान हुनुपर्छ । परिवर्तित परिस्थितिमा संस्थालाई नयाँ ढङ्गबाट चलाउन जरुरी छ ।”

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले साझाको विश्वसनीयता गुमेको हुँदा नेपाल सरकारका हरेक प्रकाशन यसबाट प्रकाशित गरेर गरिमा बढाउँदै लानुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “यस संस्था सुधारका लागि वैकल्पिक मार्ग भए पनि अपनाउनुपर्छ ।” प्रकाशनका पूर्वसञ्चालक दीनानाथ शर्माले साझा नेपाली भाषा, साहित्य, संस्कृति र शिक्षाको आत्मा भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “यसले विगतदेखि हालसम्म मानव संस्थाका रुपमा भूमिका निर्वाह गर्दै आइरहेको छ ।” सो संस्थामा नीतिगत तथा नेतृत्व सुधारका साथै संरचनागत परिवर्तन गरी राष्ट्रिय प्रकाशन गृह बनाउन जरुरी भएको शर्माको मत थियो ।

प्रकाशनका पूर्वअध्यक्ष तथा महाप्रबन्धक प्राज्ञ डा तुलसीप्रसाद भट्टराइले संस्थामा योग्य व्यक्तिलाई समय तोकेर राख्दा उच्च स्थानमा पुग्ने बताउनुभयो । पूर्वअध्यक्ष विष्णुविभु घिमिरेले साझा प्रकाशन मासिनु भनेको स्वयं मानिसको जीवन समाप्त हुने बताउँदै मुलुकमा हालसम्म उत्पादन भएका साहित्यकार र लेखक आदिका कृतिका साथै अस्तित्व पनि यससँगै अन्त्य हुनजाने दुखेसो गर्नुभयो । पूर्वमहाप्रबन्धक प्रा डा रमेशप्रसाद भट्टराईले साझाले बजार प्रणाली नबुझुञ्जेल उन्नति नहुने हुँदा मुलुकभर रहेका सहकारीलाई जोड्नुपर्ने मत राख्नुभयो । प्रकाशनका महाप्रबन्धक होमप्रसाद गौतमले सो संस्था बनाउन नौदेखि १० करोड रकम चाहिने र यसमा रहेका कूल ३६ कार्यालयलाई घटाएर हाल १४ कार्यालय मात्र रहेको जानकारी गराउनुभयो ।

उक्त कार्यक्रममा साझा प्रकाशन लामो समयदेखि भवनविहीन भइरहेको र यसमा पुनः कक्षा ११ र १२ का पाठ्यपुस्तक प्रकाशन गर्न पाउने अधिकार दिलाउन सरकरलाई अनुरोध गर्नुभयो ।