१४ बैशाख २०८१, शुक्रबार

प्रदेशमा योजना बाँडफाँटको शैली परिवर्तन गर्न आवश्यक

bagmati pardesh

वाग्मती प्रदेश नीतियोजना आयोगका कार्यवाहक उपाध्यक्ष श्यामकुमार बस्नेतले आयोगले परम्परागतरुपमा वितरण गर्दै आएको योजनाको शैलीलाई अब नयाँ सोच चिन्तनका साथ परिवर्तन गरी प्रदेश योजना बैंकमार्फत योजनाको बाँडफाँट गर्ने क्रममा प्रदेश सरकार र राष्ट्रिय योजना आयोगबीच गृहकार्य भइरहेको बताउनुभएको छ ।

उहाँले आज आफ्नो कार्यकक्षमा रासससँग सङ्क्षिप्त कुराकानी गर्नुहुँदै प्रदेश सरकारले आगामी आव २०७८÷७९ का लागि योजना बैंकमार्फत राष्ट्रिय गौरवको आयोजना र स्थानीय निकायको सिफारिसअनुसार, विकासको पूर्वाधारको योजना बाँडफाँट गरिनेतर्फ आयोगले छिट्टै आवधिक योजनाको तर्जुमा गर्न लागेको उल्लेख गर्नुभयो । कार्यवाहक उपाध्यक्ष बस्नेतले प्रदेशको ११९ वटै स्थानीय तहका जनतालाई दीर्घकालीन लाभ पुग्ने योजनालाई एकरुपताका साथ कार्यान्वयन गर्न जनप्रतिनिधिले आफूलाई दलको नेताभन्दा जनताको सेवकका रुपमा काम गर्नुपर्ने विचारमा परिवर्तन ल्याउन आवश्यकता रहेको बताउनुभएको छ ।

उहाँले नीति योजना आयोगले प्रदेशको १३ वटै जिल्लामा राष्ट्रिय गौरवको आयोजनाका साथै कृषि उत्पादन, पर्यटन र साँस्कृतिक सम्पदाको संरक्षणका लागि योजना तर्जुमा गरी आवश्यक बजेट, जनशक्ति बाँडफाँट गरिने र निर्माणाधीन आयोजनाको नियमित अनुगमन गर्न स्थानीय निकायलाई निर्देशन पनि पठाइसकेको स्पष्ट पार्नुभयो ।

उहाँले एक प्रश्नको उत्तरमा प्रदेशमा सुशासन ल्याई बढ्दो बेरुजुलाई न्यूनीकरण गर्न प्रदेश सरकारले छिट्टै कार्यदल बनाई अनुगमनका लागि जिल्लाजिल्लामा पठाउन प्रदेश सरकारसँग छलफल भइरहेको पनि जानकारी दिनुभयो । उहाँले प्रदेशको १३ वटै जिल्लामा सबैभन्दा बढी बेरुजु रकम फछ्र्यौट गर्ने महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई प्रोत्साहनस्वरुप राष्ट्रिय गौरवको योजना उपलब्ध गराउन राष्ट्रिय योजना आयोग र प्रदेश सरकारसँगै बृहत् छलफल गरिने पनि बताउनुभयो ।