४ बैशाख २०८१, मंगलवार

नमूना सङ्कलन सुस्त

pcr

सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोभिड–१९ का शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन गर्ने काममा कमी आएको छ ।गत एक हप्तामा प्रदेशका विभिन्न जिल्लाका कोरोनाका शङ्कास्पद दुई हजार ३५१ जनाको नमूनामात्र सङ्कलन हुन सकेको छ । नयाँ सङ्कलित नमूनासमेत गएको हप्तामा दुई हजार ३८८ नमूनाको परीक्षण हुँदा ३९२ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा यो अवधिमा थप ३९२ जनामा सङ्क्रमण देखिँदा ४१३ जना उपचार व्यवस्थापनपछि घर फर्किएका छन् । अहिलेसम्म नौ हजार ४६० घरफर्किएका छन् । सङ्कलन भएका केही नमूनाको परीक्षण हुन बाँकी छ ।

सेती प्रादेशिक अस्पताल धनगढी, कोभिड–१९ उपचार विभागका प्रमुख डा शेरबहादुर कमरले कोरोना भाइरसको सङ्क्रमण हुने दरमा कमी नआएको बताउनुभयो । “जाडो मौसममा ‘भाइरल इम्फेक्सन’को जोखिम बढी हुने गर्दा कोरोनाको जस्तो लक्षण देखिने निमोनिया, रुघाखोकीका बिरामी बढ्दै गएको देखिएको छ”, उहाँले भन्नुभयो, “पछिल्ला दिनमा कोरोना भाइरसका जटिल अवस्थाका र सक्रिय सङ्क्रमित बिरामी भर्ना हुने दर पनि बढ्दो छ ।”

स्वास्थ्य निर्देशनालय दीपायलका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले आवश्यक स्वास्थ्यकर्मीको अभाव हुँदा नमूना सङ्कलन गर्ने काममा कमी आएको जानकारी दिनुभयो । लक्षण देखिएका र यस्ता व्यक्तिको सम्पर्कमा आएका, अन्यत्र ठाउँबाट आएर क्वारेन्टिनमा बसेकाहरुको मात्र नमूना सङ्कलन गर्नुपर्ने पछिल्लो मापदण्ड बनेकाले पनि नमूना सङ्कलनमा कमी आएको हुन सक्ने उहाँले बताउनुभयो ।

सङ्क्रमित भई होम आइसोलेसनमै मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन । आजसम्म कैलालीमा १९, कञ्चनपुरमा पाँच, डडेल्धुरा र बझाङमा तीन÷तीन, अछाम, बाजुरा, दार्चुलामा दुई÷दुई र डोटी तथा बैतडीमा एक÷एक गरी जम्मा ३८ जनाको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका सात जनाको सघन उपचार कक्षमा र दुई जनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको छ । तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधाणको चहलपहल बढ्दा कोरोना फैलिने जोखिम थप बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।