६ जेष्ठ २०८१, आईतवार

दैलेखमा टेलिकमको फाइबरबाट सेवा शुरु, पुराना तारहरु हटाईँदै

NTC krishna dailekh

दैलेख । नेपाल टेलिकमले दैलेखमा ‘फोर–जी’ शुरु गरे संगै सदरमुकाममा टेलिकमको फाइबरबाट सेवा दिएको छ । यो सेवा शुरु भएपछी बजारमा अब्यस्थीत रुपमा रहेको तामाको तारबाट संचालनमा रहेको टेलिफोन तथा इन्टरनेटका तारहरु हटाउन थालिएको छ । सोमबार टेलिकमको कार्यालय देखि गणेशचौक सम्मको तारहरु हटाइएको छ । यो कार्य निरन्तर रहने टेलिकमले जनाएको छ ।

नारायण नगरपालिकामा तामाको तारबाट संचालनमा रहेको टेलिफोन तथा इन्टरनेट नेटवर्कलाई अप्टिकल फाइबरले विस्थापित गरेको हो । सोमबार देखि टेलिकमले दैलेख बजार भित्रका तारहरु विस्थापित गर्न लागेको छ । सदरमुकाम समेत रहेको नारायण नगरपालिकाका सेवाग्राहिलाई उच्च गतिको इन्टरनेट सेवा प्रदान गरिरहेको छ ।

टेलिकम दैलेखकाका अनुसार कात्तिक १५ गते नै उक्त स्थानमा “फाइबर टु द होम” (एफटीटीएच) विस्तारको कार्य सम्पन्न भएको थियो । उक्त स्थानमा यसअघि प्रयोगमा रहेका पुरानो नेटवर्कलाई सम्पूर्ण रुपमा नयाँ अप्टिकल फाइबर नेटवर्कबाट विस्थापित गरिएको हो ।

पूर्ण रुपमा फाइबर नेटवर्क विस्तार हुने नारायण नगरपालिका कर्णाली प्रदेशको पहिलो नगरपालिका भएको टेलिकम दैलेखले जनाएको छ । नारायण नगरपालिकामा टेलिकमका अनुसार १०२४ लाइन क्षमताको एफटीटीएच नेटवर्क विस्तार गरिएको हो ।

पुरानो तामाको तार अर्थात कपरबाट सञ्चालित करिब ४१७ लाइन एफटीटीएचमा रुपान्तरण गरिएका छन् भने नयाँ १२० लाइन समेत वितरण गरिएको छ । यो सँगै उक्त नगरपालिकामा एफटीटीएच लाइन प्रयोगकर्ताको संख्या ५३७ पुगेको छ । यसले नारायण नगरपालिका अन्तर्गतको बजारको सबैजसो भागलाई समेटेको छ । दैलेखमा टेलिकमका प्रयोगकर्ताहरूले फोरजी सेवा एक बर्ष पहिले देखि चलाउदै आएका छन् ।

नेपाल टेलिकम दैलेखको तर्ताङदेखि सदरमुकाम दैलेख बजारहुँदै खुर्सानीबारीसम्मको क्षेत्रमा अप्टिकल फाइबर बिछ्याए संगै पुरानो तारहरु हटाउन लागेको नेपाल टेलिकम दैलेखका निमित्त कार्यालय प्रमुख हरी खनालले जानकारी दिए । उनका अनुसार दैलेख बजारमा अब पुराना तारहरु हटाएपछि नयाँ तारहरुलाई ब्यवस्थीत गरिने र बजार सुन्दर देखिने छ ।

नारायण नगरपालिकामा तार विस्थापनाको काम शुरु भएको र यो काम सकिएपछि दुल्लु नगरपालिकामा फाइबरको काम शुरु गरिने टेलिकम दैलेखले जानकारी दिएको छ ।