
इभो मोरालेसले राष्ट्रपति पदबाट राजीनामा दिएपछि बोलिभियाको विपक्षी दलकी सिनेटर जिनाइन एनेजले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेकी छिन् ।
मोरालेसका पार्टीका सांसदहरुले उक्त सेसनलाई बहिस्कार गरेका कारण उनको नियुक्तिका लागि कोरम भने पूरा भने थिएन ।
एनेजले संविधानतः आफू राष्ट्रपति बन्ने लाइनमा रहेको बताउँदै चाँडै निर्वाचन घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरिन् । मोरालेसले उक्त घोषणाको विरोध गर्दै एनेजलाई दक्षिणपन्थी ‘कू’ को व्यापारीको संज्ञा दिए ।
पूर्व राष्ट्रपति मोरालेस आफ्नो ज्यानमाथि खतरा रहेको बताउँदै मेक्सिकोमा शरण लिएर बसिरहेका छन् । राष्ट्रपति निर्वाचन परिणामलाई लिएर हप्तौ लामो प्रदर्शन पछि आइतबार मोरालेसले राजीनामा दिएका थिए ।
कृषक पृष्ठभूमिबाट आएका मोरालेस सन् २००६ मा पहिलोपटक राष्ट्रपतिमा निर्वाचित भएका थिए । आदिवासी समूदायबाट देशको सर्वोच्च पदमा पुग्ने उनी पहिलो व्यक्ति थिए । एजेन्सी