प्रहरीले मानव तस्करीको आरोपमा ५० वर्षीया कृष्णमाया लामालाई पक्राउ गरेको छ ।
नुवाकोटको सूर्यगढी गाउँपालिका–६ घर भइ हाल ललितपुर, चापागाउँ बस्ने कान्छी तामाङ भनिने लामालाई बुधबार मानव बेचविखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।
लामाले १५ वर्षीया एक नेपाली किशोरीलाई १० हजार भारतीय रुपैयाँमा भारतमा कोठी सन्चालक लक्ष्मी र हेमालाई बेचेको ब्यूरोले जनाएको छ ।
बान्ता नआउने औषधि भनेर लठ्याउने सुई लगाई १५ वर्षीय बालिका आफन्तबाटै बेचिएको खुलासा भएको छ । ती किशोरीलाई कोठी सन्चालकहरूले बन्धक बनाइ हार्मोनको सुई र औषधि दिएको पनि ब्यूरोले जनाएको छ ।
त्यसपछि भारतको नयाँ दिल्लीस्थित कोठी नं ५११ मा दुई, कोठी नं ६४ मा दुई वर्ष र कोठी नं ४० मा १५ दिन राखी यौनधन्दामा लगाइएको थियो ।
सोही क्रममा एक नेपाली ग्राहकलाई बालिकाले पीडा सुनाएपछि उनकै पहलमा बालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ । उनले बालिकालाई उद्धार गरी माइती नेपालमा ल्याएका थिए ।
मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा अभियुक्त लामाले २०६८ सालमा आफ्नै नजीकको नाता पर्ने बालिकालाई यसरी बेचेको खुल्न आएको छ ।
आरोपी लामालाई आठ वर्षपछि आज प्रहरीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिकास्थित देउवाचोकबाट पक्राउ गरेको छ ।
सोही घटनामा संलग्न सूर्यगढी गाउँपालिका–६ घर भइ चापागाउँ बस्ने ४२ वर्षीय शेरबहादुर लामा फरार रहेकाले उनको खोजी भइरहेको ब्यूरोले जनाएको छ ।
नयाँदिल्लीस्थित कोठीमा चार वर्षभन्दा बढी समय बस्न बाध्य किशोरी त्यहाँबाट भागेर आइ यही कात्तिक २० गते आफूलाई बेच्नेविरुद्ध उजुरी दिएकी थिइन् ।