१४ बैशाख २०८१, शुक्रबार

कार्तिकनृत्यः स्वास्थ्य मापदण्ड पालना गरेर बराह नृत्य मञ्चन

katik dance

हरेक वर्ष कार्तिक शुक्लपक्ष द्वादशी तिथिमा मनाइँदै आएको कार्तिक नाचअन्तर्गतको बराह नृत्य यसपटक भने स्वास्थ्य मापदण्ड पालना गरेर मञ्चन गरिएको छ । गत वर्ष १२ दिन प्रदर्शन गरिएको कार्तिक नृत्य यस वर्ष भने विश्वव्यापी कोरोना महामारीका कारण सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर मात्र प्रदर्शन गरिएको हो ।

मुलुकमा अझै महामारी रहिरहेकाले नृत्यमा सहभागी मानिसको स्वास्थ्यमा ख्याल गरेर मास्कसँगै भाइजर अर्थात् ‘फेस शिल्ड’, पञ्जा, स्यानिटाइजरका साथै सामाजिक दूरी कायम गर्न लगाएर बराह नृत्य सम्पन्न गरिएको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष हामी परम्परा धान्न मात्र अघि बढेका थियौँ । बराह नृत्य हेर्न इच्छुक मानिसको मनोकामना पूर्ण गराउन र कार्तिक डबलीमा सो व्यक्तिका आवागमन पनि रोक्न विभिन्न सञ्चारमाध्यमद्वारा प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको थियो । ”

यस पटकको कार्तिक नृत्यमा केही मानिस मात्र सहभागी रहँदा नौलो महसुस हुनाका साथै कोरोना सङ्क्रमण नहुने विश्वास लिइरहेको समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले स्वास्थ्यका साथसाथै सरकारको सुरक्षा मापदण्ड अपनाएर यस वर्ष कार्तिक नाचको मनोरञ्जन लिन धेरै मानिस कार्तिक डबलीमा उपस्थित नहून भनेर सामाजिक सञ्जालमार्फत अनुरोधसमेत गरेका थियौँ ।” केही टेलिभिजन र युट्युब च्यानलको सहयोगमा बराह नृत्यको आनन्द लिन पाउने भएसँगै इच्छुक व्यक्ति पनि खुशी नै भइरहेको शर्माले बताउनुभयो ।

विष्णुपुराणमा आधारित कथानुसार हिरण्याक्ष दैत्यलाई आज मात्रै भगाइने काम गरिन्छ । अन्य वर्षझैँ यस वर्ष पनि कार्तिक नृत्यलाई निरन्तरता दिन ललितपुर महानगरपालिकाका साथै वडा नं १६ ले आआफ्ना तर्फबाट सहयोग गरेका थिए । मुलुकमा कार्तिक नाचको थालनी भएसँगै इतिहासमा कुनै वर्ष पनि रोकिएको नसुनिएको जानकार बताउँछन् ।

विसं १६९७ पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । सो नाच विश्वकै सबैभन्दा लामो भएको जिकिर गरिएको छ । कार्तिक नाट्य महोत्सवले जनतालाई एउटै सूत्रमा बाँधेर धार्मिक, नैतिक र सामाजिक ज्ञानसमेत प्रदान गरिरहेको छ । कार्तिक नाच प्रथम पटक पाँच तथा सिद्धिनरसिंहका छोरा राजा श्रीनिवासका पालादेखि ‘बाथःप्याखँ’ अर्थात् ‘लोकनाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर १५ दिन सञ्चालन गरिएको पाटनवासी बताउँछन् ।

यसैगरी श्रीनिवासका छोरा राजा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीला थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरेको जनाइएको छ ।

मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्काे दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको समितिले जनाएको छ । सिद्धिनरसिंहका नाति योगनरेन्द्रका पालामा कात्तिकभरि सञ्चालन गरिएको सो नाचमा १७ विधाका कथा वा नृत्य प्रदर्शन गरिन्थ्यो । कोरोना महामारी आउनुअघि मुलुककै लामो नाच हेर्न स्वदेशीका साथसाथै विदेशी मुलुकका थुप्रै मानिस पाटन आउँथे ।

यस वर्ष कोभिड भयले कार्तिक डबली वरपर बस्ने मानिसहरुले समेत घरघरबाट टिभीमार्फत नृत्यको आनन्द लिएको समितिका सचिव विजय तण्डुकारले बताउनुभयो । उहाँले भन्नुभयो,“ यो नाच हिन्दूका साथै बौद्धधर्मावलम्बीका लागि पनि अति नै महत्वपूर्ण रहेको छ ।” हरेक वर्ष कार्तिक नृत्य देखाएमा मुलुकमा आउने विघ्नबाधा हटी शान्तिसुव्यवस्था कायम रहने तण्डुकारले विश्वास व्यक्त गर्नुभयो ।

    सम्बन्धित समाचार...