१४ बैशाख २०८१, शुक्रबार

रहेनन् विश्वविख्यात फुटबलर डिएगो म्यारोडना

marodona death

विश्वविख्यात अर्जेन्टिनी फुटबल स्टार डिएगो म्यारोडनाको निधन भएको छ ।

फुटबलका हस्ती म्याराडोनाको बुधबार नेपाली समयअनुसार राति ६० वर्षको उमेरमा निधन भएको हो । अर्जेन्टेनी मध्यपंक्तिका आक्रामक खेलाडी म्याराडोनालाई विश्व फुटबलकै एक उत्कृष्ट खेलाडीका रूपमा लिइन्छ ।

ब्युनस आयर्स स्थित आफ्नै घरमा उनलाई हृदयघात भएको थियो । अघिल्लो महिनामात्र उनको मस्तिष्कमा जमेको रगत शल्यक्रिया गरेर हटाइएको थियो । सो क्रममा उनलाई दुई साता अस्पतालमा राखिएको थियो । दुव्यवसनीका कारण उनी पटक पटक रोगसँग जुध्दै आएका थिए ।

अर्जेन्टिनाले सन् १९८६ मा विश्वकप उनकै कप्तानीमा जितेको थियो । त्यसमा क्वार्टरफाइनलमा इंग्ल्यान्डविरुद्ध गरेको दुई गोल निकै चर्चित छ । पहिलो उनले हेडबाट गोल गर्नेक्रममा हातले गोल गरेका थिए, जसलाई ‘ह्यान्ड अफ गड’ भनेर चिनिन्छ । दोसो गोल उनले आफ्नो मध्यभाग एक्लै अगाडि बढाउँदै इंग्लिस खेलाडीहरू र गोलरक्षक पिटर सिल्टनलाई छक्काउँदै गरेका थिए, जुन विश्वकपकै उत्कृष्ट गोलमा गनिन्छ ।

Diego Maradona

विश्व फुटबल महासंघले २००० मा म्याराडोना र ब्राजिलका पेले दुवैलाई शताब्दीका उत्कृष्ट फुटबलरको उपाधिबाट पुरस्कृत गरेको थियो । अर्जेन्टिनी फुटबल संघले म्यारोडोनाको निधनमा गहिरो दुःख प्रकट गर्दै उनी आफुहरूको हृदयमा रहिरहने जनाएको छ । म्यारोडोनाले स्वदेशमा बोका जुनियर्स हुदैं युरोपमा बार्सिलोना, सेभिया र नेपोलीबाट क्लब फुटबल खेलेका थिए र नेपोलीलाई दुई पटक इटालीयन सिरी ‘ए’ को उपाधि दिलाएका थिए ।

राष्ट्रिय टोलीबाट ९१ खेलमा ३४ गोल गरेका म्याराडोनाले चार विश्वकप खेले । उनकै कप्तानीमा अर्जेन्टिना १९९० को विश्वकपको फाइनल पुगेको थियो, जहाँ टोली तत्कालिन पश्चिम जर्मनीसँग पराजित भएको थियो । अमेरिकामा १९९४ मा भएको विश्वकपबाट म्यारोडाना डोपिङ टेस्टमा असफल भएपछि घर फर्काइएको थियो ।

लागूऔषध सेवन म्यारोडोनाको निरन्तर जस्तै रहयो । १९९१ मा कोकिन सेवन गरेको पाइएपछि उनी माथी १५ महिनाको प्रतिबन्ध लगाइएको थियो । म्यारोडोनाले १९९७ मा व्यवसायीक लिग फुटबल टुंगाएका थिए, जुन दिन उनी आफ्नो ३७ औं जन्मदिन मनाइरहेका थिए ।

उनी २००८ मा अर्जेन्टिनी राष्ट्रिय टोलीको प्रशिक्षक भएका थिए । दक्षिण अफ्रिकामा २०१० मा भएको विश्वकप फुटबलमा जर्मनीसँग क्वार्टरफाइनलमा ४–० ले पराजित भएपछि उनलाई सो जिम्मेवारीबाट हटाइएको थियो । त्यसयता उनले युएई र मेक्सिकोको क्बलमा प्रशिक्षक बनेका थिए ।

म्याराडोनाको निधनमा तीन दिन राष्ट्रिय शोक मनाइने अर्जेन्टिनाका राष्ट्रपति अर्बेर्टो फर्नान्डेजले घोषणा गरेका छन् ।