१९ बैशाख २०८१, बुधबार

बैतडीमा बस दुर्घटना : नौको मृत्युु, ३४ घाइते, मृतकमध्ये ७ जनाको सनाखत

accident

दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो ।

सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । मृतकहरुको सनाखत हुन बाँकी छ । मृतकमध्ये सात जना पुरुष र दुई जना महिला छन् । दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ । बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रनाउ अधिकारीले जानकारी दिनुभयो ।

मृतकमध्ये आठ जनाको शव घटनास्थलबाट निकालिसकिएको छ भने एकजनाको बससँगै अड्किएकाले आज दिउँसो निकालिने प्रहरीले बताएको छ । प्रहरी र स्थानीयवासी मिलेर राति नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको थियो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रनाउ अधिकारीले जानकारी दिनुभयो । दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै यकिन भइनसकेको प्रहरीले जनाएको छ । बस बैतडीको दोगडाकेदार–७ खोचलेकका वीरेन्द्र कार्कीको रहेको बताइएको छ । साहुु आफैँ चालक रहेका र उनीसमेत घाइते भएका छन् ।

मृतकमध्ये ७ जनाको सनाखत

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार दुर्घटनामा मृत्यु भएकामध्ये सनाखत हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका ६ का रणबहादुर चन्द, सोही ठाउँका करणसिंह ऐरी र कविन्द्र जोशी रहेका छन् । यस्तै डिलाशैनी गाउँपालिका ७ घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका १० बस्ने विजना धामी, दार्चुलाको मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा, दार्चुलाकै तर्कराज गिरी र कञ्चनपुरको भीमदत्त नगरपालिका ८ की किर्तीका कार्कीको पनि सनाखत भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ७ जना पुरुष र २ जना छन् । मृतकमध्ये १ जनाको उपचारको लागि लैजाँदै गर्दा डडेलधुरामा मृत्यु भएको र अन्यको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा ३४ जना घाइते भएका छन् । घाइते ३४ जनामध्ये ८ जनाको अवस्था गम्भीर रहेको बुझिएको प्रहरीले बताएको छ । सबैलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए । बसका चालक र सहचालक दुवै घाइते छन् । बसका ४० भन्दा बढी यात्रु सवार रहेका थिए ।