१३ बैशाख २०८१, बिहीबार

नवरात्रमा शक्तिपीठ दर्शनका लागि खुला नहुने, नित्य पूजामात्र गरिने

dashain

नेपालीको महान् चाड बडादशैँका अवसरमा यस वर्ष देशभरका शक्तिपीठमा नित्य पूजा गरी भक्तजनको दर्शनका लागि खुला नगरिने भएको छ । काठमाडौँ उपत्यका लगायत धेरै जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले शक्तिपीठमा पुजारीले नित्य पूजा एवं आरती गरी भक्तजनलाई प्रवेश गर्न नदिइने भएको हो ।

पशुपति क्षेत्रमा रहेको गुह्येश्वरी, जयवागेश्वरी लगायत शक्तिपीठ दर्शनार्थीका लागि नखोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । उपत्यकामा कोरोना भाइरसका सङ्क्रमित बढिरहेकाले पुजारीबाट हुने नित्य पूजा आराधना गरी मन्दिर सर्वसाधारणका लागि नखोलिने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो ।

उपत्यकामा मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, इन्द्रायणी, सुन्दरीमाई, बज्रयोगिनी लगायत प्रसिद्ध शक्तिपीठ छन् । जहाँ आश्विन शुक्ल प्रतिपदादेखि विजयादशमीका दिनसम्म भक्तजनको धेरै भीड लाग्ने गर्छ ।

यी शक्तिपीठमा शारदीय नवरात्रमा विशेष पूजा हुने गरेको छ । कोरोना भाइरसका कारण गत चैतदेखि देशका मुख्य मन्दिर सर्वसाधारणका लागि बन्द गरिएको छ ।

गृह मन्त्रालयले पनि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी देशभरका शक्तिपीठ भक्तजनका लागि नखोल्न आह्वान गरेको छ । आम मानिसलाई कोरोना भाइरसको सङ्क्रमणबाट बचाउन मन्त्रालयले यस्तो आह्वान गरेको हो ।

नवरात्रको पहिलो दिन आज दशैँ घर एवं पूजा कोठामा घटस्थापना सहित जमरा राखेर नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिन्छ ।

नवरात्रका नौ दिनसम्म नौ वटी देवीको विशेष आराधना गरिन्छ ।

शक्तिपीठ खोल्न विश्व हिन्दू महासङ्घको माग

विश्व हिन्दू महासङ्घले भने नेपालीको महान् चाड बडादशैँका अवसरमा भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर देशभरका शक्तिपीठ खोल्न माग गरेको छ । सरकारले कोरोना फैलिरहेका बेला अन्य क्षेत्र कहिले आंशिक त कहिले पूरा खुला गरेको उल्लेख गर्दै महासङ्घले नेपालीको आस्थाको केन्द्र मन्दिर पनि बडादशैँका अवसरमा सुरक्षित तरीकाले खोल्न आह्वान गरेको हो ।

महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेश नेउपानेले शुक्रबार विज्ञप्ति जारी अन्य क्षेत्र खुला गरेर मन्दिरमात्र बन्द गरिनु संविधान प्रदत्त धार्मिक स्वतन्त्रतामाथिको हस्तक्षेत्र भएको उल्लेख गर्नुभएको छ ।

बडादशैँका अवसरमा शक्तिपीठ खुला गरी सुरक्षित तरीकाले पूजा आराधना एवं दर्शन गर्ने व्यवस्था मिलाउन महासङ्घले माग गरेको छ ।

महासङ्घ लगायत संस्थाले पशुपति मन्दिर लगायत शक्तिपीठ खुला गरिनुपर्ने माग गर्दै तीन साताअघिदेखि पशुपति क्षेत्रमा दीप प्रज्ज्वलन गर्दै आएका छन् ।

नेपालीको महान् चाड बडादशैँ आजदेखि शुरु भएको छ । आज पहिलो दिन घर घरमा घटस्थापना गरी समृद्धिको प्रतीक जमरा राखिन्छ । त्यहीँ दुर्गाभवानीको आह्वान गरी नवरात्रभर विशेष पूजा आराधना गरिन्छ । वर्षभर आवश्यक पर्ने विभिन्न शक्ति प्राप्तिका लागि नवरात्रका बेला साधना गर्ने शास्त्रीय विधान छ ।