१४ बैशाख २०८१, शुक्रबार

उखु किसानले दशैँ पहिले बक्यौता रकम पाउनु पर्ने माग

sugarcane farmers harvest

रौतहटका उखु किसानले श्रीराम सुगर मिल्स प्रालिबाट तत्काल पाउनुपर्ने बक्यौता रकम रु ४१ करोड दशैँ पहिले नै पाउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवलाई आज ज्ञापनपत्र बुझाउँदै उखु उत्पादक सङ्घले हाल कम्पनी बन्द रहेकाले उद्योग पुनः सञ्चालनको माग समेत गरेको छ ।

उद्योगबाट त्यहाँ कार्यरत श्रमिक तथा कर्मचारीले पाँच महिनाको तलब÷भत्ता तथा डेढ वर्षको सञ्चयकोष समेत गरी रु चार करोड पाउन बाँकी रहेकाले त्यसको पनि भुक्तानीको माग सङ्घले गरेको छ । किसानको भुक्तानी बाँकी रहेकै अवस्थामा जिल्ला प्रशासन कार्यालय रौटहटले गत साउनमा कम्पनी बन्द गर्ने निर्णय गरेको थियो ।

कम्पनी बन्द हुँदा किसान र कर्मचारी, श्रमिक सबैलाई समस्या भएको विज्ञप्तीमा उल्लेख छ । उद्योग बन्द हुँदा ३३० स्थायी श्रमिक, कर्मचारी र करिब साढे दुई सय करारका गरी झण्डै ६०० कर्मचारी बेरोजगार भएको सङ्घका वरिष्ठ उपाध्यक्ष रामप्रमोदप्रसाद यादवले बताउनुभयो । उहाँका अनुसार उद्योग सञ्चालन हुँदा धेरैले अप्रत्यक्ष रोजगारी पाएपनि बन्द हुँदा ती व्यक्तिको समेत आयस्रोत खोसिएको छ ।

रौतहट जिल्लाका झण्डै १८ हजार किसानले उखु खेती गर्दै आएका छन् । उनीहरुले यसबाट वार्षिक अरबौँ आम्दानी गरेपनि अहिले उद्योग बन्द हुँदा यहाँ समस्या बढेको छ । यहाँका किसानलाई दैनिक छाक टार्न र सन्तानलाई पढाउन समेत समस्या भएको विज्ञप्तीमा उल्लेख छ ।

सङ्घ र कम्पनीबीच पटकपटक सम्झौता भएपनि त्यसको कार्यान्वयन हुन सकेको थिएन । विसं २०७३ असोज महिनामा किसानको आव २०७१÷७२ को भुक्तानी दशैँ पहिले गर्ने गरी सम्झौता भएको थियो । त्यतिबेला कम्पनीले किसानलाई थोरै मात्रै भुक्तानी गरेको थियो । त्यसपछि २०७४ बैशाख र जेठमा किसानको भुक्तानी गर्ने सम्झौता भएपनि अझैसम्म पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । पछिल्लोपटक गत पुसमा कम्पनीले किसानसँग चिनी र स्प्रिट बेचेर बाँकी भुक्तानी गर्ने सहमति भएपनि केही रकम मात्रै भुक्तानी गरेको छ ।

आफूहरुले विगतमा भएका सम्झौताअनुसार नै बक्यौता रकम पाउनुपर्ने भन्दै सङ्घले विभिन्न निकायमा ज्ञापनपत्र बुझाउँदै आएको छ । किसानको आव २०७१÷७२ को रु १२ करोड र आव २०७५÷७६ को रु २८ करोड ५० लाख रकम बाँकी छ । गत आवको रु ५० लाख समेत गरी बक्यौता रकम रु ४१ करोड छ । कार्यक्रममा विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्कालगायत उद्योग समिति र अन्य समितिका सांसद्हरु सहभागी हुनुहुन्थ्यो ।