१४ बैशाख २०८१, शुक्रबार

अध्ययन केन्द्रको अध्यक्षमा पूर्वसभासद दुर्गाजयन्ती राई

durgajyanti rai
दुर्गाजयन्ती राईको फेसबुकबाट

महिला एकता अध्ययन केन्द्र खोटाङको अध्यक्षमा पूर्वसभासद दुर्गाजयन्ती राई पुनः तेस्रो कार्यकालका लागि चयन हुनुभएको छ । हरेक महिलालाई अध्ययनमा प्रोत्साहित गर्ने लक्ष्यका साथ १३ वर्षअघि स्थापना गरिएको केन्द्रको शुक्रबार सम्पन्न तेस्रो अधिवेशन तथा आठौँ साधारणसभाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहुनुभएका उहाँलाई पुनः तेस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।

पन्ध्र सदस्यीय कार्यसमिति रहेको अध्ययन केन्द्रको उपाध्यक्षमा बिन्दा थापा, सचिवमा डिल्लीकुमारी आचार्य, सहसचिवमा कविता राई र कोषाध्यक्षमा मनिशोभा राईलाई चयन गरेको छ । महिलामा अध्ययन गर्ने बानीको विकास गर्ने÷गराउने लक्ष्यका साथ जिल्लास्थित सबै राजनीतिक दलका महिला नेतृहरुको सहकार्यमा विसं २०६३ मा महिला अध्ययन केन्द्र स्थापना गरिएको हो ।

अध्ययन केन्द्रको अधिवेशनले पूर्वसभासद सरस्वती बजिमयको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समितिसमेत चयन गरिएको छ । सल्लाहकार समितिमा पूर्वसभासद एवं नेकपाका केन्द्रीय सदस्य समिता कार्की ‘अस्मिता’, नेकपा नेतृ सुशीला ढकाल, हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख विमला राई, नेकपा खोटाङका सचिवालय सदस्य दिलकुमारी, नेकपा मालेका नेतृ सीतादेवी फुयाँल र जनता समाजवादी पार्टी नेपालका सदस्य मञ्जु राई रहनुभएको छ ।

“अध्ययनबिना मानव जीवन अपुरो हुने र जुनसुकै कामको सफलताको कल्पना गर्न सकिन्न” भन्ने मान्यतालाई आत्मसाथ गर्दै स्थापना गरिएको अध्ययन केन्द्रले आफ्नै कार्यालयमा पुस्तकालयसमेत सञ्चालन गर्दै आएको छ । परिवार, समाज र देशले अपेक्षित गति लिन नसक्नुमा एउटा कारण अध्ययनकै कमीले भएकाले अध्ययन संस्कृतिको विकास गर्न पुस्तकालय सञ्चालन गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो ।

दिक्तेल बजारमा भाडाको कोठाबाट सञ्चालन हुँदै आएको अध्ययन केन्द्रलाई कृषिविज्ञ मदन राईले निःशुल्क जग्गा उपलब्ध गराउनुभएपछि भवन निर्माण गरिएको छ । अधिवेशन तथा साधारणसभाको अवसरमा अध्ययन केन्द्रको तालिम हलसमेत औपचारिकरूपमा उद्घाटन गरिएको छ ।

प्रदेशसभा सदस्य राजन राईमार्फत प्राप्त भएको रु पाँच लाख र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ‘उपमेयरसँग महिला कार्यक्रम’को रु पाँच लाख गरी जम्मा रु १० लाख बजेटमार्फत अध्ययन केन्द्रको माथिल्लो तलामा व्यवस्थित तालिम हल निर्माण गरिएको जनाइएको छ । केन्द्रको आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राईलगायतको उपस्थिति रहेको थियो ।