
फेसबुक पोस्टका कारण कलाकार तथा निर्देशक आसिफ शाह विवादमा तानिएका छन्। आसिफ साहले माफी मागेका छन् । घामड शेरे’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म हो ।
शनिबार फिल्म ‘घामड शेरे’ फिल्मको पोष्टर र नेपाली कांग्रेसका सभापति शेरबहादर देउवाको फोटोसँगै राखेर शाहले आफ्नो फेसबुक पेजमा पोष्ट गरेपछि उनी विवादमा मुछिएका थिए ।
फिल्म ‘घामड शेरे’ आउँदो शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आउँदैछ। आसिफले फेसबुकमा ‘घामड शेरे, कार्तिक २२’ लेखेर फिल्मको पोष्टर र देउवाको तस्वीर पोष्ट गरेका थिए।
उनले सार्वजनिक गरेको पोष्टलाई आधार बनाएर काँग्रेसका भ्रातृ संगठन नेविसंघ र तरुण दलले साहले सार्वजनिक रुपमा माफी माग्नु पर्ने भन्दै विरोध गरेका थिए।
नेविसंघ बैतडीका जिल्ला सभापति कपिल केसीले एक स्टाटस लेख्दै फिल्म ‘घामड शेरे’ सुदुरपश्चिमका कुनै पनि हलमा चल्न नदिने उद्घोष गरेका छन् ।
कलाकार जगतको कलङ्क आसिफ शाहले सार्वजनिक रुपमा आममाफी माग्नुपर्छ’ सभापति कपिलले अगाडि लेखेका छन् ‘होइन भने सुदुर पश्चिमको कुनै पनि हलमा फिल्म चल्न दिइने छैन र सुप प्रवेशमा त्यस्ता कलंकलाई पूर्ण निषेध गरिनेछ । जय नेपाल ।’
आलोचनापछि आसिफले त्यो पोष्ट डिलिट गर्दै नयाँ स्टाटस् मार्फत स्पष्टिकरण दिएका छन्। उनले कोही व्यक्ति वा संस्थाको भावनामा चोट पुर्याउन नचाहेको बताएका छन् । उनले आफू कुनै राजनैतिक विचारको नभएको भन्दै आफूले ठट्यौली मात्र गरेको र यसले कसैको भावनामा ठेस पुगेकोमा माफी मागेका छन्।
माफीसँगै शाहले अघिल्लो स्टाटस समेत डिलिट गरेका छन् । तर उनको अघिल्लो स्टाटस उनको पछिल्लो माफी भरिएको स्टाटसको कमेन्टमा उनकै फ्यानले पोष्ट गरिदिएका छन् ।
आसिफ केही पहिले प्रदर्शनमा आएको ‘दुई रुपैयाँ’ का निर्देशक तथा कलाकार हुन्। ‘घामड शेरे’मा आसिफ छैनन्। फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्काको शीर्ष भूमिका छ। फिल्मको प्रचारप्रसारमा सहयोग पुगोस् भन्ने हेतुले गरेको पोष्टले अहिले आसिफ तनावमा छन्।