७ बैशाख २०८१, शुक्रबार

तीन महिनाको प्रतिबन्धपछि कप्तान मेस्सी अर्जेन्टिनी टिममा फर्किए

messi

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी राष्ट्रिय टोलीमा फर्किएका छन् । कोपा अमेरिका कपका क्रममा आयोजक दक्षिण अमेरिकी फुटबल महासंघ विरुद्ध बोलेका मेस्सीलाई तीन महिना प्रतिबन्धको कारवाही गरिएको थियो । मेस्सीको प्रतिबन्ध फुकुवा भएसँगै उनी पुनः राष्ट्रिय टोलीका फर्किएका हुन् ।

अर्को महिना ब्राजिल र उरुग्वेविरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि मेस्सी टिममा परेका हुन् । कोपा अमेरिका कपमा भ्रष्टाचार भएको आरोप लगाउँदै मेस्सीले त्यसको भागिदार आफ्नो टिम नहुने बताएका थिए ।

मेस्सीले कोपामा चरम भ्रष्टाचार भएको र रेफ्रीले समेत गलत निर्णय गरेको अभिब्यक्ति दिएका थिए । अर्जेन्टिना कोपा अमेरिका कपको सेमिफाइनलमा ब्राजिलसँग २–० गोलले पराजित भएको थियो ।

मेस्सीले उक्त खेलमा ब्राजिललाई उपाधि जिताउन रेफ्रीले खेल मिलेमतो गरेको आरोप पनि लगाएका थिए । कोपामा अर्जेन्टिना चिलीलाई २–१ गोलले हराउँदै तेस्रो भएको थियो । मेस्सीले तेस्रो स्थानको पुरस्कार लिन समेत मानेका थिएनन् ।

प्रतिबन्ध सकिएलगत्तै अर्जेन्टिनाको टिममा कप्तान मेस्सी परेका हुन् । अर्जेन्टिनाले ब्राजिलसँग १५ नोभेम्बरमा साउदी अरबमा खेल्दैछ । त्यस्तै, दोस्रो मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले १८ नोभेम्बरमा उरुग्वेसँग इजरायलमा खेल्दैछ ।