७ बैशाख २०८१, शुक्रबार

इस्लामिक स्टेटले गर्‍यो बगदादी मारिएको पुष्टि, अल हाशमी नयाँ नेता चयन

Baghdadi

जिहादी समूह इस्लामिक स्टेट (आइएस)ले आफ्ना नेता अबु बकर अल-बग्दादीको मृत्यु भएको पुष्टि गरेको छ ।

बग्दादीको मृत्युसँगै आइएसले अबु इब्राहिम अल–हाशेमी अल कुराशीलाई नयाँ नेता चयन गरेको जनाएको छ ।

सिरियामा अमेरिकी सेनाको विशेष फौजले कारबाही गरेपछि गएको शनिबार अल बग्दादीले आत्मघाती विस्फोट गराएर आफ्नै ज्यान लिएका थिए ।

त्यसको लगत्तै गरिएको अर्को एक छुट्टै कारबाहीमा उक्त समूहका प्रवक्ता अबु अल -हसन अल -मुजाहिर पनि मारिएका आइएसले बिहीबार पुष्टि गरेको छ । अल मुजाहिरलाई बग्दादीको उत्तराधिकारीकारुपमा हेरिएको थियो । उनको पनि मृत्यु भएपछि चरमपन्थी समूहले अल हाशेमीलाई नयाँ नेता चयन गरेको हो ।

आइएसले नयाँ नेता हाशेमीलाई ‘क्यालिफ’ अर्थात् स्वघोषित ईश्वरबाट शासित व्यवस्थाको नयाँ शासक घोषणा गरेको हो ।

आइएसले आफ्ना नयाँ नेता हाशेमीकाबारेमा धेरै जानकारी दिएको छैन । उनको कुनै तस्वीर पनि सार्वजनिक गरेको छैन । (एजेन्सी)

    सम्बन्धित समाचार...