६ जेष्ठ २०८१, आईतवार

सिद्धिगणेश साकोसबाट कोरोना रोकथामका लागि २० लाख सहयोग

money
सांकेतिक तस्विर

कोरोना भाइरस रोकथामका लागि सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले भक्तपुर नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा रु १९ लाख ९८ हजार पाँच सय ४९ सहयोग गरेको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सो कोषमा जम्मा हुने गरी संस्थाका अध्यक्ष राजन लाखाले सो रकमको चेक आज नगरप्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा नगरप्रमुख प्रजापतिले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषको आम्दानी तथा खर्चलाई पारदर्शी ढङ्गले सार्वजनिक गर्ने बताउँदै कोषको रकमको आम्दानी तथा खर्च नगरपालिकाको वेभसाइट ‘भक्तपुर खबर डटकम’ र नपाको प्रकाशन ‘भक्तपुर मासिक’मार्फत सार्वजनिक गर्दै आइरहेको जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष लाखाले नगरपालिकाले सञ्चालनमा ल्याइएको आइसोलेसन व्यवस्थापनका लागि सहयोग गर्ने सञ्चालक समितिको निर्णयानुसार संस्थाको ‘समुदाय विकास कोष’ बाट सो रकम सहयोग गरेको बताउँदै आगामी दिनमा पनि कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि संस्थाले नगरपालिकासँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।