२४ बैशाख २०८१, सोमबार

व्यवसायीलाई राहत कार्यक्रम ल्याउन माग

press meet scaled

पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेश सरकारद्वारा घोषित व्यवसाय जीवन रक्षा कोष तत्काल कार्यान्वयनमा ल्याउन माग गरेको छ । संघले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दामु अधिकारीले घोषित कोषबाट राहत पाउने आशामा रहेका व्यवसायी कार्यविधि नै नवन्दा निराश बनेको उल्लेख गर्नुभयो ।

कोरोनाका कारण प्रभावित व्यवसायलाई उठाउन राज्यले सहयोग गर्नुपर्ने निजी क्षेत्रको माग रहेको बताउँदै उहाँले नेपाल सरकारले आर्थिक वर्ष २०७७÷०७८ को मौद्रिक नीतिमार्फत् घोषित राहत प्याकेज वास्तविक पीडित व्यवसायीले पाउनुपर्नेमा जोड दिनुभयो । बन्दाबन्दी खुले पनि उद्योग÷व्यवसायले गति लिन नसकेको बताउँदै उहाँले कोरोनाद्वारा सिर्जित विषतमताकै बीच कतिपय व्यवसायी पलायन भएको र धेरैजसो बैंकबाट लिएको कर्जाको साँवा र ब्याज कसरी बुझाउने भन्ने चिन्तामा रहेको बताउनुभयो ।

पोखरा उद्योग वाणिज्य संघले अघिल्लो वर्ष पुस १८ देखि २८ गतेसम्म आयोजना गरेको समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७६ बाट करिब ९८ लाख २३ हजार ४०० रुपैयाँ आम्दानी र विविध खर्चमा ८५ लाख ८१ हजार १०७ रुपैयाँ खर्च भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । मेलाबाट १२ लाख ४२ हजार जति बचत हुने अपेक्षा गरिएको संघले जनाएको छ ।