७ बैशाख २०८१, शुक्रबार

गाउँपालिकामा बिजुलीबत्ती पुगेपछी नाचगान र भोजभतेर

electricity

मकवानपुरको कैलाश गाउँपालिकास्थित जलुकेमा पहिलोपटक बिजुली बलेको छ । कैलाशको वडा नं १ मा पर्ने जलुकेमा बिजुली पुगेपछि स्थानीयवासी अभूतपूर्व खुशी भएका छन् । खुशीले उनीहरुलाई अहिले नै ‘दशैँ’ भएको छ । यही उपलक्ष्यमा उनीहरुले नाचगान र भोजसमेत गरेका छन् । घरघरमा बिजुली बलेपछि गाउँ नै उज्यालो भएको छ । प्याट्ट स्वीच थिचेपछि आफूले चाहेको बेला बत्ती बल्दा जलुकेवासी दङ्ग छन् ।

गाउँमा राष्ट्रिय प्रसारण लाइनबाट बिजुली बाल्न जलुकेवासीले अनवरत प्रयास गर्दै आएका थिए । पछिल्लोपटक विनाशकारी भूकम्प गएको वर्षदेखि नै उनीहरुले पहल थालेका थिए । नेपाल विद्युत् प्राधिकरण पालुङ वितरण केन्द्रको बिजुली छिमेकी गाउँसम्म पुगेपछि उनीहरुमा पनि बिजुलीको उज्यालोमा बस्ने इच्छा जागेको थियो ।

यो प्रयास पाँच वर्षपछि सफल भएको छ । जलुकेका धेरैले दियालोकै उज्यालोमा जीवन चलाए । मट्टितेल राखेर टुकी बाल्दा उनीहरुलाई नयाँ प्रविधि भित्रिएजस्तो लाग्थ्यो । मैनबत्ती बालेर खर्चले पुग्दैनथ्यो । पछिल्लो समय कतिपयले ब्याट्रीबाट भान्सा र सुत्ने ठाउँ उज्यालो पार्थे । सोलार प्रविधिबाट बत्ती बाल्नेहरुले दिउँसो घाम लागे राति उज्यालो पाउँथे । आज यी सबै इतिहास भएको स्थानीय वाङ्गेल लामाले बताउनुभयो ।

अहिले जलुकेको ५५ घरमा बिजुली बलेको छ । उनीहरुले बिजुली बाल्न गाउँबाटै रु दुई लाख ७५ हजार उठाएका थिए । श्रमदान पनि उत्तिकै गरे । जम्माजम्मी रु १२ लाखको लागतमा गाउँमा बिजुली पुगेको वडाध्यक्ष पेमा लामाको भनाइ छ ।

जलुकेकी नीरमाया सिञ्जाली मगर अहिले ५२ वर्षकी हुनुभयो । अहिलेसम्म हर्षले सायदै उहाँको आँशु खसेको थियो । घरमा बिजुली बल्दा हर्षले आँशु खसेको उहाँले पत्तै पाउनुभएन । पहिलोपटक गाउँ नै झिलिमिली हुँदा गाउँका सबैको मुहार हँसिलो भएको छ । मोबाइल चार्ज गर्न पनि अर्को गाउँ जानुपर्ने बाध्यता अब हटेको उहाँले बताउनुभयो ।

जलुकेमा बिजुली पुगे पनि वडाकै अन्य धेरै ठाउँ अझै अन्धकार छ । बिजुली पुगेको छैन । वडाको खोलाखर्क, फूलढुङ्गा, नौलेटोललगायत टोलमा अझै बिजुली नपुगेको वडाध्यक्ष लामाले बताउनुभयो ।

जलुकेमा बिजुली पुगेपछि अब क्रमशः छिमेकी गाउँहरुमा पनि बिजुली पुर्‍याउने वडाको लक्ष्य छ । छिमेकी थाहा नगरपालिका बिजुलीले झलमल्ल भए पनि कैलाश गाउँपालिकाको धेरै ठाउँमा अझै बिजुली पुगेको छैन । गाउँपालिकाले बाटो (सडक) र बिजुलीलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष टङ्क मोक्तानले बताउनुभयो ।