१५ चैत्र २०८०, बिहीबार

सर्पले डसेका बालकको उपचारमा आर्थिक सहयोग

snake bite

सर्पको डसाइबाट गम्भीर बिरामी परेका कास्कीको मादी गाउँपालिका–६ तप्राङका १३ वर्षीय विशाल पौडेलको उपचारमा आज रु दुई लाख ३२ हजार ७२ सहयोग हस्तान्तरण गरिएको छ ।

मादी–४ घर भई हाल जापानमा रहनुभएका मीन पाण्डे क्षेत्री र सङ्गीता पौडेलले सङ्कलन गर्नुभएको सो रकम मादी–४ का वडाध्यक्ष सत्यराज सापकोटामार्फत विशाल पौडेल बचाउ अभियानका संयोजक रवि क्षेत्रीलाई हस्तान्तरण गरिएको हो ।

गत साउन २८ गते घरमै बसेको बेला विषालु सर्पले डसेपछि गम्भीर बिरामी परेका बालकको उपचारमा अर्थाभाव भएको र चिकित्सकले राजधानी लैजान सिफारिस गरे पनि परिवारले रकम अभावमा लान नसकेको सम्बन्धी समाचार प्रकाशित भएपछि उपचारमा सहयोग आउने क्रम शुरु भएको थियो ।

तप्राङवासीले विशाल पौडेल बचाउ अभियान शुरु गरेर अर्थ सङ्कलन समिति गठन गरी स्वदेश तथा विदेशमा रहेका अभियन्तामार्फत सहयोग सङ्कलन गरेर परिवारलाई हस्तान्तरण गर्न शुरु गरेका थिए । समाचार पढेपछि देश–विदेशबाट स्वेच्छिकरूपमा सहयोग जम्मा हुन थालेको थियो ।

अभियानका संयोजक क्षेत्रीका अनुसार हालसम्म समितिलाई प्राप्त सहयोग रकममध्ये रु तीन लाख ५० हजार परिवारलाई प्रदान गरिएको छ । त्यसैगरी अन्य व्यक्ति तथा संस्थाबाट सिधँै परिवारलार्ई रु तीन लाख हस्तान्तरण गरिएको जानकारी दिनुभयो । आगामी असोज २४ गतेसम्म सहयोग सङ्कलन अभियान जारी रहने बताउँदै उहाँले समितिको खातामा हाल रु छ लाख ५० हजार मौज्दात रहेको बताउनुभयो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल अस्पतालको सघन उपचारकक्षमा ४२ दिन राखेर उपचारपछि बालकको हाल काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । समाचार प्रकाशित भएको भोलिपल्ट केही रकम सहयोग प्राप्त भएपछि बालकलाई काठमाडौँ लगिएको थियो ।

बिरामीका दाजु विजय पौडेलले भाइको स्वास्थ्यमा विस्तारै सुधार हुँदै गएको जानकारी दिँदै हातखुट्टा, टाउको तथा शरीर चलाउन शुरु गरेको जानकारी दिनुभयो । “काठमाडौँ लगेपछि पोखरा रहँदा भन्दा स्वास्थ्यमा सुधार आएको तर अझै राम्रो भइसकेको छैन । विस्तारै शरीर चलाउन शुरु गरेका छन्”, पौडेलले भन्नुभयो, “अझै कति दिन अस्पताल बस्नुपर्दछ खर्च कति लाग्छ यकिन छैन ।”

शुरुआतमा परिवारले सकेसम्म उपचार खर्च आफैँले जोरजाम गरे पनि खर्चले धान्न नसकेपछि बाध्य भएर सहयोगको हात थापेको र देश विदेशबाट प्राप्त सहयोगबाट आफूहरु आभारी रहेको उहाँले उल्लेख गर्नुभयो ।