१६ बैशाख २०८१, आईतवार

मोटरसाइकल र अटोरिक्सा एक आपसमा ठक्कर खाँदा सात घाइते, एकको मृत्यु

accident

चितवनमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा नारायणगढबाट मुग्लिनतर्फ गइरहेको प्रदेश ३–०३००१ह ४४७ नम्बरको अटोरिक्सा र मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना ५०प ४५५० नंको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार तनहुँ घिरिङ गाउँपालिका–४ का ३५ वर्षीय जीतबहादुर रानाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिनुभयो । मोटरसाइकल चालक सोही ठाउँका बेलबहादुर राना घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यस्तै अटो चालकसहित सवार अन्य छ जना पनि घाइते भएको शर्माले बताउनुभयो । उनीहरु सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।