१३ बैशाख २०८१, बिहीबार

बागलुङ बजारको अव्यवस्थित तार र पोल हटाउन शुरु

baglung pole

बागलुङ बजारमा लामो समयदेखि जीर्ण अवस्थामा रहेका विद्युत् पोल र तारका कारण कुरुप देखिएका हटाउन थालिएको छ । बागलुङ नगरपालिकाले नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकमको सहकार्यमा बागलुङ बजारको सौन्दर्यकरणका लागि पुराना तार र विद्युत्का पोल हटाउने अभियान शुरु गरिएको छ ।

नगरपालिकाले गत वर्ष टेलिकम, विद्युत् प्राधिकरण, इन्टरनेट सेवाप्रदायक कम्पनीलाई अव्यवस्थित तार र पोल हटाउन निर्देशन दिए पनि पटक–पटक अवज्ञा भएको भन्दै नगरपालिकाले आजबाट शिवधारा चोकबाट तार र पोल हटाउने अभियान शुरु गरेको छ ।

एक वर्षको अवधिमा विद्युत् प्राधिकरणले बागलुङ बजारको १८० थान नयाँ विद्युत्का पोल राखेर विद्युत्लाई नाङ्गो तारमुक्त गरिसकेको छ । नाङ्गो तार हटाएका कारण बागलुङ बजारमा विद्युतीय दुर्घटनाको जोखिम पनि कम भएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशालीले जानकारी दिनुभयो ।

“निकै चुनौतीका बाबजुद हामीले नाङ्गो तार हटाएर विद्युत्का पोलसमेत व्यवस्थापन गरेका छौँ”, गोशालीले भन्नुभयो, “तर विद्युत्का तार नयाँ पोलमा सारे पनि इन्टरनेट र केबल तारले गर्दा पुराना विद्युतीय पोल हटाउन नपाएका कारण समस्या भएको थियो, आजबाट नगरपालिकाले तार काट्ने र पोल हटाउने कार्य थालिएको छ ।”

बागलुङ बजारमा नेपाल टेलिकमले समेत तामाको अव्यवस्थित तार हटाउन शुरु गरिसकेको छ । टेलिकमले एक वर्षअघि नै तामाको अव्यवस्थित तार प्रतिस्थापन गर्ने उद्देश्यले फाइवरबाट सेवा प्रदान गरिरहेको छ । टेलिकमले तामाको तार हटाउने कार्यलाई तीव्रता दिए पनि इन्टरनेट तथा केबुल सेवा प्रदायकले भने पुराना विद्युतीय पोलबाट नयाँ विद्युतीय पोलमा तार सार्न नसक्दा समस्या भएको छ ।

बजार क्षेत्रको सबै अव्यवस्थित तार र पोल तीन महिनाभित्र हटाइने गरी आजबाट शिवधारा चोकबाट अभियानको शुभारम्भ गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । “केबल र इन्टरनेट सेवा प्रदायकले एक वर्षदेखिको निर्देशन अवज्ञा गर्दै आएका कारण समस्या थियो”, नगरप्रमुख पौडेलले भन्नुभयो, “आजदेखि तार व्यवस्थापन र पुराना पोल हटाउन शुरु गरेका छौँ, चार महिनापछि बागलुङ नगरपालिका केही हदसम्म सुन्दर हुनेछ ।”

विद्युत् प्राधिकरणले नयाँ पोल राखेपछि टेलिकमले नयाँ फाइवर तारसमेत नयाँ पोलमा राखे पनि इन्टरनेट र केबलको तार अझै पुरानै पोलमा छन् । यसलाई आजदेखि विद्युत् प्राधिकरणले पुराना पोल हटाउने र टेलिकमले तार काट्ने अभियान थालिएको नगरपालिकाका इञ्जीनियर गौरव शर्माले जानकारी दिनुभयो । विद्युत् प्राधिकरणका अनुसार बागलुङ बजारमा १८० वटा पुराना विद्युत्का पोल हटाउनुपर्ने छ ।