१४ बैशाख २०८१, शुक्रबार

पर्वत आउँदा अनिवार्य दुई हप्ता होम क्वारेन्टिनमा बस्नुपर्ने

kusma bajar

समुदायस्तरमा कोरोना सङ्क्रमणको सामान्य प्रभाव मात्रै परेको पर्वतमा थप सङ्क्रमण फैलन नदिन विदेश र सङ्क्रमण फैलिएको जिल्लाबाट आउनेलाई अनिवार्यरुपमा दुई हप्ता होम क्वारिन्टनमा बस्नुपर्ने निर्णय गरिएको छ ।

कुस्मा नगरपालिकाका जनप्रतिनिधिसहित सुरक्षा निकाय र सरोकारवालाको शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले सङ्क्रमण घरघरमा र समुदायमा पुग्नबाट रोक्नका लागि दुई हप्ता अनिवार्यरुपमा क्वारेन्टिनमा राख्ने निर्णय गरेको हो ।

सरकारले सार्वजनिक यातयात खुल्ला गरेपछि भारत, तेस्रो देश तथा सङ्क्रमण समुदायमा फैलिएका जिल्लाबाट पनि ठूलो सङ्ख्यामा जिल्लामा भित्रिएपछि उनीहरुबाट समुदायमा सङ्क्रमण पुग्न नदिन स्थानीय तहको नेतृत्वमा अनिवार्य होम क्वारेन्टिनमा राख्ने निर्णय भएको छ ।

कुस्माको बजार क्षेत्रमा एक साताको बीचमा ठूलो सङ्ख्यामा मानिस भित्रिए पनि उनीहरु होम क्वारेन्टिनमा नबस्ने र पेशा व्यवसायसमेत शुरु गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार कुस्मा नगरपालिकाका ४, ५, ६ र ७ नम्बर वडाका अध्यक्षसहितका जनप्रतिनिधिसँग छलफल गरेको थियो ।

वडाका जनप्रतिनिधिले टोल समिति र लायन्स, रोटरी, जेसिज, आमा समूह तथा युवा क्लबको सहयोग लिएर असोज १ गते पछि विदेश र अन्य जिल्लाबाट आएकाको विवरण सङ्कलन गर्ने र उनीहरुलाई अनिवार्यरुपमा परिवारसँग समेत सम्पर्क नगरी होमक्वारेन्टिनमा बस्न लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए ।

कुस्मा नगरपालिकाका बजार क्षेत्रबाहेकका पनि सबै वडा र जिल्लाका सातवटै पालिकामा बाहिरबाट आउनेलाई अनिवार्यरुपमा होम क्वारेन्टाइनमा राख्न र अनुगमन गरिराख्न अनुरोध गर्ने गरिने प्रजिअ रेग्मीले बताए ।

पर्वत जिल्लामा अहिलेसम्म जम्मा १२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा अधिकांश क्वारेन्टिनमा बसेका व्यक्ति छन् । थोरै सङ्ख्यामा स्वास्थ्यकर्मी, स्थानीयवासीमा सङ्क्रमण देखिए पनि कन्टयाक्ट टे«सिङका क्रममा थप सङ्क्रमण फैलिएको भेटिएको थिएन ।

पर्वत जिल्लामा कोरोनाविरुद्धको अभियानमा लागू भएको ‘पुलिङ क्वारेन्टिन’ को अवधारणा कोरोना समुदायमा फैलन नदिनका लागि सबैभन्दा प्रभावकारी सावित भएको थियो । सबै पालिकामा समुदायस्तरमा गरिएका नमूना परीक्षणमा एक दुई वटा घटनाबाहेक समुदायका व्यक्तिमा सङ्क्रमण देखिएको थिएन ।

भारत वा तेस्रो मुलुकबाट आउनेलाई नाकाबाटै सोझै कुस्माबजारमा रहेका पुलिङ क्वारेन्टिनमा राखिन्थ्यो । एक हप्तापछि पिसिआर परीक्षण गरेपछि रिपोर्ट नेगेटिभ आएपछि पनि सम्बन्धित पालिकाका क्वारेन्टाइनमा दुई हप्ता राखेर घर पठाइन्थ्यो । पोजेटिभ रिर्पोट आउने आइसोलेसनमा बस्थे भने नेगेटिभ आउने पनि पालिका र वडाका क्वारेन्टाइनमा बसेर गएपछि समुदायमा कोरोना पुग्न पाएको थिएन । अब भने होम क्वारेन्टिनमा बसेकामा कोरोनाको लक्षण देखिएमा मात्रै पिसिआर परीक्षण गरिने भएको छ ।