१५ चैत्र २०८०, बिहीबार

क्रिकेट खेलाडी भण्डारीलाई उपचारका लागि काठमाडौँ ल्याइयो

lalit bhandari

दुर्घटनामा गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । आइतबार साँझ कञ्चनपुरको झलारीमा दुर्घटनामा पर्नुभएका भण्डारीको थप उपचार काठमाडौँस्थित ग्राण्डी अस्पतालमा हुने भएको छ । उहाँलाई केही बेर अघि बाँकेको कोहलपुर मेडिकल कलेजबाट हेलिकप्टरमा ग्राण्डी ल्याइएको हो ।

धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको मिनिट्रकले आइतबार साँझ कञ्चनपुरको झलारी बजारमा भण्डारीले चलाएको म २ प ४७०५ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो । भण्डारीको दाहिने खुट्टा र दाहिने हात भाँच्चिएको छ । भण्डारीको छाती र अन्य भागमा समेत चोट भएकाले थप उपचारका लागि काठमाडौँ ल्याउनुपरेको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० का बासिन्दा भण्डारी महेन्द्रनगरबाट घर फर्किदा दुर्घटनामा पर्नुभएको हो । उहाँका पछाडी सवार करन ठगुन्ना भने सामान्य घाइते हुनुहुन्छ ।

दुर्घटना लगत्तै झलारीस्थित शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि भण्डारीलाई थप उपचारका लागि धनगढी लगिएको थियो । उहाँलाई राति नै बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी विनोद भण्डारीले जानकारी दिनुभयो । ठक्कर दिने मिनीट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक घटना लगत्तै फरार रहेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो ।

भण्डारी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँ हाते तीव्र गतिका बलर हुनुहुन्छ । पछिल्लो समय उहाँ नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आउनुभएको थियो । भण्डारी फ्रेन्चाइज लिगका पनि नियमित खेलाडी हुनुहुन्छ । उहाँले सन् २०१७ मा आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरव इमिरेटस् (यूएई) विरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गर्नुभएको थियो । भण्डारीले सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध एकदिवसीय खेल खेल्नुभएको थियो । त्यसअघि उहाँले नपालका लागि विभिन्न उमेर समूहका प्रतियोगिता खेलिसक्नुभएको छ ।