१९ बैशाख २०८१, बुधबार

पीएसजीको लगातार दोस्रो हार, नेयमारसहित ५ खेलाडीलाई रातो कार्ड, १२ पहेंलो कार्ड

neymar epa

फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नयाँ सिजनको फ्रेन्च लिग वानमा लगातार दोस्रो हार बेहोरेको छ । निकै तनावपुर्ण बनेको खेलमा पीएसजी घरेलु मैदानमै मार्सेलीसँग १-० ले पराजित भएको हो ।

खेलको ३१ औं मिनेटमा फ्लोरियन थाउभिनले गोल गर्दै अग्रता दिलाएका थिए । उनले डिमिट्री पायेटको पासमा गरेकाे गोल नै निर्णयक गाेल बन्याे । कोरोना संक्रमणमुक्त भएका ब्राजिली स्टार नेयमार र एन्जल डि मारियालाई उतारेपनि टोलीले हार टार्न सकेन । पीएसजी यसअघि पहिलो खेलमा लेन्ससँग पनि १-० ले नै पराजित भएको थियो ।

पीएसजी पराजित खेलमा नेयमार सहित एकै खेलका पाँच खेलाडीलाई रेड कार्ड देखाइएको छ । कोरोना भाइरस संक्रमणपछि मैदान फर्किएका ब्राजिलियन स्ट्राइकर नेयमार खेलको इन्जुरी समयमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

psg marseille

९० मिनेट भित्र ३६ फाउल भएको थियो । रेफ्रीले पाँच रेड कार्डसहित १७ कार्डको प्रयोग गरेका थिए । जुन लिग वानमा यो एक रेकर्डसमेत हो । खेलको अन्तिम समयमा अर्जेन्टिनी जोडी डारियो बेनेडेटो र लिआन्ड्रो पेरेडेसबीचको झगडाले ठुलो रुप लिएपछि खेलमा निकै नै तनाव ग्रस्त भएको थियो ।

खेल अवधिभर निकै आक्रामक रुपमा देखिएका दुवै टोलीका खेलाडी अन्त्यतिर हात हालाहाल मै उत्रँदा रेफ्री जेरोम ब्रिसार्डले ५ खेलाडीलाई रातो कार्ड देखाए । त्यसअघि उनले १२ पटक पहेंलो कार्ड देखाउन बाध्य भएका थिए ।

रेफ्रीले हात हालाहाल गरेका जोर्डन अमाभी र लेभिन कुर्जावालाई सिधै रातो कार्ड देखाए । त्यसपछि मुख्य फलमा आबद्ध लियान्ड्रो पारेडेस र डारियो बेनेडेटोले दोस्रो पहेंलो कार्ड खाँदै मैदान बाहिरीए । रेफ्रीले नेयमारलाई कार्ड दिन भने भिडियो असिस्टेन्ट रेफ्रीको सहारा लिनुपर्यो 

त्यस्तै नेयमारले स्पेनीस डिफेन्डर अल्वारो गोन्जालेजाको टाउकोको पछाडि थप्पड हानेपछि उनलाई पनि रेफ्रीले भीआरको सहायतामा रातो कार्ड देखाएका थिए । त्यसअघि पीएसजीका लेभिन कुर्जावा र मार्सिलेका जोर्डन अमावीलाई कार्ड देखाएका थिए ।

भीएआरमा हेर्दा नेयमारले मार्सेका डिफेन्डर अल्भारोलाई टाउको पछाडी मुक्का हानेको देखिएको थियो । रेफ्रीले त्यसपछि पहिले नै पहेंलो कार्ड पाएका नेयमारलाई सिधै रातो कार्ड देखाउँदै मैदानबाहिर पठाए । एक पटक आग्रह नमानेपछि रेफ्री जेरोम ब्रिसार्डले कुर्जावा र अमावीलाई सोझै रातो देखाएका थिए ।

नेयमारले मैदानबाट बाहिरिने क्रममा अल्भारोले रंगभेदी टिप्पणी गरेको बताए । उनले खेलपछि बोल्दै अल्भारोलाई टाउको पछाडी नभएर मुखमा मुक्का हान्नुपर्ने अभिव्यक्ति समेत दिएका थिए ।

त्यसपछि मार्सिलेले नौ र पीएसजीले आठ खेलाडीमा खेलको अन्तिम मिनेट खेल्दै अन्त्य गरेका थिए ।

यो हारले पीएजसीले लिग वानको सुरुवाती दुई खेलमा अंक जोड्न नसक्दा मार्सेली लगातार दोस्रो जित निकाल्दै ६ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ ।