२१ बैशाख २०८१, शुक्रबार

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्र

Nijgadh airport

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामले तीव्रता लिएको छ । विमानस्थल निर्माणस्थलमा पर्ने रुख कटानका लागि हालसम्म सो क्षेत्रका ५७ हजार ३५० रुख गणना कार्य सकिएको छ भने त्यस क्षेत्रमा नदी नियन्त्रणका काम पनि धमाधम भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षताम आज मन्त्रालयमा भएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तर निकाय समन्वय, सहजीकरण समितिको बैठकमा विमानस्थलको प्रगति विवरण पेश गरिएको हो । आउँदो मङ्सिर मसान्तभित्र रुख तथा पोलको लगत नम्वरिङकोे कार्य सम्पन्न गर्ने निर्णय गरिएको छ ।

बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने आयोजनास्थलमा अवस्थित टाँगिया बस्ती स्थानान्तरणका लागि सहजीकरण समितिको विसं २०७६ माघ २ गतेको निर्णयानुसार भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित समितिले स्थलगत रुपमा निरीक्षण गरी बस्ती व्यवस्थापनका लागि स्थानसहितको मोडालिटी तयार गरी १५ दिनभित्र समितिसमक्ष प्रतिवेदन पेश गरिनेछ । साथै, उक्त समितिका सदस्यमा डिभिजन वन कार्यालय, बाराका प्रमुखलाई थप गर्ने निर्णय पनि भएको छ ।

विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँचमार्ग निर्माण र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटान गर्ने कार्य सम्पन्न गर्न नेपाल वन निगम लिमिटेडमार्फत् रुख कटानको काम अगाडि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशनसमेत दिएको छ । बैठकले विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता प्रक्रियाका बाँकी कार्य एक साताभित्र सक्न प्राधिकरणलाई निर्देशन दिएको छ । लगानी बोर्डले विमानस्थल निर्माणका लागि छनोट भएको जुरिच इन्टरनेशनल कम्पनीसँग निरन्तर संवाद र पत्राचार गरी सेप्टेम्बर ३० भित्रमा परियोजना प्रस्ताव अन्तिम निर्णय लिनेसमेत बैठकले निर्णय गरेको पर्यटन मन्त्रालयले जनाएको छ ।