१६ चैत्र २०८०, शुक्रबार

मेस्सीको पिसिआर रिर्पोट नेगेटिभ, बार्सिलोनासँग प्रशिक्षणमा फर्किए

leo messi
फाइल फोटो

बार्सिलोनाका खेलाडी लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् ।

क्लब छाडेर जाने प्रयास असफल भएपछि बार्सिलोनाका स्टार लियोनेल मेस्सी प्रशिक्षणमा फकिएका छन् । ३३ वर्षीय मेस्सीले गत २५ अगस्तमा नेतृत्वलाई क्लब छाडेर जाने इच्छाबारे जानकारी गराएका थिए । तर, हाल उनको रिलिज क्लजमा रहेको ७० करोड युरो रकम कुनै पनि क्लबले तिर्न नसक्ने बताउँदै मेस्सीले यो सिजन क्लबमा नै रहने बताएका थिए ।

प्रशिक्षणको लागि पीसीआर परीक्षण गरेका मेस्सीको रिपोर्ट नेगेटिभ आएको हो । रिपोर्ट नेगेटिभ आएसँगै उनीले बार्सिलोनाबाट नै प्रशिक्षण सुरु गरेका सञ्चारमाध्यमले जनाएका छन् ।

बार्सिलोनाले एक हप्ता अघि नै प्रशिक्षण सुरु गरे पनि मेस्सीले भने क्लब छोड्नको लागि निवेदन दिएका कारण सहभागी हुन पाएका थिएनन् । तर फेरी एक वर्ष क्लबमा नै बस्ने निर्णय गरेपछि कोरोना परीक्षण गरेर प्रशिक्षणमा फर्किएका हुन् ।

नयाँ म्यानेजर रोनाल्ड कोम्यानको आगमनपछि क्लबमा मेस्सीले पहिलो पटक प्रशिक्षण गरेका हुन् । मेस्सी र फिलिपे काउन्टिन्होले एक्ला एक्लै प्रशिक्षण गरे भने टोलीका अन्य सदस्यले सामुहिक प्रशिक्षण गरेका थिए । क्लबलाई ‘ट्रान्सफर रिक्वेस्ट’ बुझाए पछि गत अगस्त ३० मा क्लबमा गरिएको कोभिड–१९ को परीक्षणमा उनी अपलब्ध भएका थिएनन् ।

मेस्सीले आफ्नो करारमा रहेको ‘सिजनको अन्तयमा निःशुल्क क्लब छाडेर जान सक्ने’ प्रावधानमा टेकेर क्लब छाड्न चाहेका थिए । तर, ला लिगा र बार्सिलोनाले भने उक्त बुँदाको वैधता गत जुनमा नै सिद्धिएको र अब उनलाई अनुबन्ध गर्ने क्लबले रिलिज क्लजमा ७० करोड युरो तिर्नुपर्ने बताएको थियो ।

बार्सिलोनाले ला लिगाको नयाँ सिजन २७ सेप्टेम्बरमा भिल्लेरियालको सामना गर्दै सुरुवात गर्दैछ ।