१५ चैत्र २०८०, बिहीबार

रोकिएन नदी दोहन

nadi utkhanan
फाइल फोटो

जिल्लामा निषेधाज्ञाका समयमा पनि नदी दोहन निरन्तर भइरहेको छ । खाद्यान्न तथा दैनिक अतिआवश्यक वस्तु, फलफूल, तरकारी, दूध र दुग्ध पदार्थ मात्र ओसारपसार गर्न छुट दिइएका अवस्थामा जिल्लाका विभिन्न नदीबाट निर्बाधरूपमा नदी दोहन भइरहेको बताइएको छ ।

असार, साउन र भदौमा नदीजन्य पदार्थ निकासी पैठारी गर्न नमिल्ने भए पनि ‘के गर्ने के नगर्ने’ भन्दै प्रहरी र स्थानीय निकायको तालमेलबीच नदीजन्य पदार्थ दोहन भइरहेको जनाइएको छ । दिउँसो थोरै मात्रामा मालवाहक सवारी साधनले नदी दोहन गरे पनि रातका समयमा सयौँका सङ्ख्यामा नदीमा पस्ने र नदीजन्य पदार्थ निकासी गर्ने गरेका छन् । जिल्लाका चापिनी, लखनदेही, कालीन्जोर, फुजोर तथा बाँकेखोलामा यसरी नदीजन्य पदार्थ निकासी पैठारी भइरहँदा पनि सरोकारवाला निकाय मौन देखिएका छन् ।

आफूहरुले आफ्नो घर बनाउन एक÷दुई खेप बालुवा निकाल्ने गरेको भए पनि प्रहरीले अनेकौँ बहाना बनाएर दुःख दिने गरेको स्थानीयवासीले बताएका छन् । व्यवसायीले व्यावसायिकरूपमा नदी दोहन गर्दा पनि प्रहरी प्रशासन मौन बसेको उनीहरुको गुनासो रहेको छ ।