६ बैशाख २०८१, बिहीबार

जारी छ पूर्वपश्चिम रेलमार्गको काम

railways
सांकेतिक तस्विर

लकडाउन तथा निषेधाज्ञाका समयमा बर्दिबास–सिमरा विद्युतीय रेलमार्गको कामले निरन्तरता पाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम रेलमार्गकोे बर्दिबासबाट रौतहटको गुजरासम्मको कामलाई १७ खण्डमा विभाजन गरिएको छ । यस खण्डमा १५ साना तथा ठूला पुल निर्माण भइरहेको छ । बर्दिबासबाट सिमरासम्मको १०८ किलोमिटरमध्ये बर्दिबासबाट रौतहटको गुजरा नगरपालिकासम्मको ७० किलोमिटरमा बोलपत्र भई करिब ५० प्रतिशत काम सम्पन्न भएको रेल इञ्जिनीयर सुरेश साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो खण्डमा विभाजन गरिएको मार्गका बीचबीचमा पानी बग्न र जनावरलाई आवतजावत गर्नका लागि करिब १५० भन्दा धेरै कल्भर्ट निर्माण भइरहेको छ । रेलमार्गका काममा लालबन्दी नगरपालिकाले समन्वयात्मक भूमिका निर्वाह गरिरहेको नगर प्रमुख मानबहादुर खड्काले जानकारी दिनुभयो । उहाँले सबैभन्दा धेरै सार्वजनिक तथा ऐलानी जग्गामा र घर तथा बस्ती परेका स्थानमा समस्या परेका कारण समाधानमा धेरै समय लागेको बताउनुभयो । बर्दिबासमा मुआब्जाको र जङ्गलको रुख कटानको विवादले गर्दा काम शुरु हुन नसकेको बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले जानकारी दिनुभयो ।

रेलमार्गको काम निरन्तर जारी रहेको गजुरमुखी निर्माण कम्पनीका प्रतिनिधि टीका गजुरेलले बताउनुभयो । रेलमार्गको कामलाई आफ्नो कम्पनीले धेरै महत्व दिएर गरिरहेको उहाँको भनाइ छ । सरकारले गत असार, साउन र यही भदौ तीन महिना नदी दोहन बन्द गरेका कारण माटो भर्ने काम रोकिएको भए पनि अरु काम निरन्तर भइरहेको कम्पनीले जनाएको छ । मुआब्जा विवादका कारण सङ्घर्ष समितिसमेत गठन गरेर काम गर्न अवरोध भएका कारण कतिपय स्थानमा काम शुरु हुननसकेको जनाइएकोे छ । सर्लाहीमा २० र रौतहटमा ७० प्रतिशत मुआब्जाको विवाद कायमै रहेको जनाइएको छ ।