१९ बैशाख २०८१, बुधबार

नियम विपरीत सञ्चालित पसलबाट बिक्रीवितरणमा रोक

kathmandu metropolitan city

अनुगमनका क्रममा उत्पादकको नाम, उत्पादन मिति, मूल्यलगायत आधारभूत विवरण नराखिएकाले कुलेश्वरमा सञ्चालित जय माँ दुर्गा ट्रेडर्सबाट सामग्री बिक्रीवितरण गर्न रोग लगाइएको छ ।

काठमाडौँ महानगरपालिकाले गरेको नियमित बजार अनुगमनका क्रममा आज उक्त पसलमा खाद्य सामग्रीको गुणस्तर, व्यापार मापदण्ड, कर भुक्तानी, व्यवसाय दर्ता र नविकरण भएको प्रमाणसहितका कागजात पेश नगरुञ्जेलका लागि बिक्रीमा प्रतिवन्ध लगाइएको हो । उक्त पसलमा पाँच बोरा हरियो केराउसहित दुई सय बोरा सेतो केराउ, एक सय बोरा चालम र २० बोरा भटमास बिक्रीका लागि रोक लगाइएको हो ।

नगर उपप्रमुख हरिप्रभा खड्गीको नेतृत्वमा गएको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले खाद्य सामग्री बिक्री गर्न रोक लगाएको हो । ट्रेडर्ससँगै आज कुलेश्वर क्षेत्रका खाद्य थोक पसलको अनुगमन गरेको थियो । त्यसक्रममा दाल, चामल, गेडागुडीको भण्डारण, खरिद बिक्री बिल, तौल, मूल्य, गोदामको अवस्था हेरिएको थियो ।

आज त्रुटी पाइएको ट्रेडर्सलाई कारवाहीको प्रक्रिया अघि बढाउने महानगरको कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीको भनाइ छ । लेबल नटाँसिएका, टाँसे पनि अक्षर मेटिएका र नबुझिने, ढक तराजु, पसलको दर्ता नविकरण अद्यावधिक नगरिएका, कर चुक्तालाई नियमति गर्न बाँकी भएकाजस्ता समस्या धेरै पसलमा रहेकाले ती सबैलाई कानुनको दायरामा ल्याइने बताइएको छ ।

सामानको लागत मूल्य एकिन नहुँदा अधिकतम मूल्यसम्ममा आइपुग्दा उपभोक्ताभन्दा बीचको तहले फाइदा उठाएको उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सेनाको भनाइ छ । महामारीका बेला तरकारीलगायत खाद्य सामग्रीको अत्यधिक मूल्य वृद्धि भएको र उपभोक्ता ठगीमा परेको गुनासो बढे पनि यसै सातादेखि महानगरपालिकाले खाद्य, दूग्ध पदार्थ तथा मासुजन्य सामग्रीको बजार अनुगमन गरिरहेको छ ।

बजार अनुगमनमा जाँदा प्रचलित व्यवस्था विपरीत काम गर्नेलाई दण्डित गर्ने अधिकार बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग छ । विगत दुई वर्षदेखि विभागलाई अनुगमनको क्रममा गल्ती ठहर भएका व्यापारीलाई तत्काल जरिवाना लिन सक्ने गरी अधिकार दिइएको छ । यसरी तत्काल गर्ने कारवाहीमा रु पाँच हजार देखि रु तीन लाखसम्म तय गरिएको छ ।