१५ चैत्र २०८०, बिहीबार

भन्सार छलेर ल्याइएको रु बाइस लाखको सामान बरामद

gaddachauki naka

सशस्त्र प्रहरीले चालु आवको हालसम्म भारतबाट भन्सार छलेर ल्याउँदै गरेको रु २२ लाख मूल्य बराबरको सामान बरामद गरी भन्सार कार्यालय गड्डाचौकीलाई बुझाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ शैलेश्वरी गण तथा मातहतका गुल्म र बोर्डर आउट पोष्टले चालु आवको डेढ महिनाको अवधिमै रु २२ लाख ३६ हजार छ सय ३१ बरावरको किराना, हार्डवेयर, युरिया, कपडा, सवारीसाधनलगायतका सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो ।

सीमा क्षेत्रहुँदै भारतबाट अवैध रुपमा भित्र्याइएका सामान मोबाइल, पैदल गस्ती टोलीले बरामद गरेको सशस्त्र प्रहरी उपरिक्षक बिरेन्द्र बहादुर ऐरले बताउनुभयो । उहाँका अनुसार सोही अवधिमा रु तीन लाख पाँच हजार नौ सय ९३ को भारततर्फ तस्करी हुदै गरेको वन पैदावरका रुपमा रहेको सिसौ, सागवान र सालका गोलिया बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ ।

भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको रु छ लाख १५ हजार चार सय १० बरावरको कुखुरा, अण्डा, माछालगायत बरामद गरी सरोकारवालाको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरी उपरिक्षक ऐरले बताउनुभयो ।