१६ बैशाख २०८१, आईतवार

भक्तपुरमा कोरोना सङ्क्रमित पुरुषको निधन

chitwan corona death 2
फाइल फोटो

निमोनिया भएर उपचारका लागि भक्तपुर अस्पताल आएका एक बिरामीको कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणबाट आज मृत्यु भएको छ । भक्तपुर नगरपालिका–३ मंगलाछेका एक ८२ वर्षीय पुरुषको मृत्यु भएको हो । उपचारका क्रममा मृत्यु भएका ती पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।

अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले निमोनिया भएर बिहीबार दिउँसो उपचारका लागि ल्याइएका पुरुषको उपचारका क्रममा आज मृत्यु भएको जानकारी दिनुभयो । बिरामीको बिहबिार नै स्वाब सङ्कलन गरेर पीसीआर परीक्षणका लागि पठाएको र आज आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

मृतकमा सङ्क्रमण पुष्टि भएपछि उक्त उपचार कक्ष बन्द गरिएको उहाँले जानकारी दिनुभयो । अस्पतालमा हरेक दिन भाइरस निर्मलीकरण गर्ने गरिएको र मृतकको उपचार भएको उक्त कक्षमा पनि निर्मलीकरण गर्नुका साथै तीन दिन सो कक्ष बन्द गरी उपचारमा संलग्न चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीलाई आइसोलेसनमा राखिने उहाँले बताउनुभयो ।

सुरक्षाकर्मीले मंगलाछेस्थित मृतक बस्ने क्षेत्र सिल गरी परिवारलाई घरमै आइसोलेसनमा राखेको र कन्ट्याक्ट टे«सिङ गर्ने काम भइरहेको बताइएको छ । यसअघि मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारका लागि ल्याइएका स्थानीय ६२ वर्षीया एक महिलाको गएराती पौने १०ः०० बजे मृत्यु भएको थियो । दम र उच्च रक्तचापको बिरामी रहेकी महिला घरमा बेहोस भएपछि अस्पताल पु¥याउँदा मृत्यु भइसकेको र कोरोनाको लक्षण देखिएकाले पीसीआर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो ।

दुवै शवको आजै नेपाली सेनाको वीर दल गण सूर्यविनायकको टोलीले पशुपतिस्थित विद्युतीय शवदाह गृहमा व्यवस्थापन गरेको गणका गणपति कर्नेल शिव पौडेलले जानकारी दिनुभयो । भक्तपुरमा यसअघि कोरोना भाइरस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । सोमध्ये सूर्यविनायक नपा १ की ६१ वर्षीया महिलाको उपचारका क्रममा पाटन अस्पतालमा, सूर्यविनायक नपा ८ का ७३ वर्षीय पुरुषको काठमाडौँको मेडिकेयर अस्पतालमा र ५३ वर्षीया महिलाको काभ्रेको धुलिखेल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । आजसम्म भक्तपृुरमा ४२९ जना कोरोना सङ्क्रमित भएका छन् भने पाँच जनाको मृत्यु भएको छ ।